बजेटको तयारीले व्यासमा नियमित समिक्षा स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बजेटको तयारीले व्यासमा नियमित समिक्षा स्थगित

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७८, सोमबार

    दमौली : व्यास नगरपालिकामा कोभिड सम्बन्धमा नियमित हुँदै आएको समिक्षा स्थगित भएको छ। कोभिड-१९ को असर र चुनौतिका सम्बन्धमा नगरपालिकाले वैशाख ३० गतेदेखि प्रत्येक बिहान समिक्षा गर्दै आएको थियो ।

    आगामी वर्षको बजेट तयारीका लागि मुख्य कार्यालय तथा वडा कार्यालय समेत आन्तरिक कार्य गर्न खोलिएकाले नियमित समिक्षा स्थगित गरिएको नगरपालिकाका शाखा अधिकृत एवं प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिनुभयो ।

    “भिडभाडका कारण संक्रमणको सम्भावित जोखिम २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने कार्यमा जनप्रतिनिधिहरु लगायत कर्मचारीहरु क्रियाशिल रहनुपर्ने भएको हुँदा नियमित समिक्षा वैठकलाई मङ्गलबारदेखि निरन्तरता नदिने निर्णय भएको छ,” उहॉले भन्नुभयो ।

    नगरपालिकाले कोभिड-१९ को सम्बन्धमा आपतकालिन एवं अन्य अत्यावश्यक निर्णय लिन सक्ने गरि नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा कोभिड-१९ अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

    समितिमा उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, जनस्वास्थ्य अधिकृत प्रमोद सोती सदस्य रहनुभएको छ भने सदस्य सचिवको जिम्मेवारी आचार्यलाई दिइएको छ।

    आइसोलेशनलाई ९० हजारको स्वास्थ्य सामग्री

    नगरपालिकाले सञ्चालन गरेको सामुदायिक आइसोलेशनलाई अष्ट्रेलियास्थित नेपालिच एण्ड अष्ट्रेलियन कम्युनिटी, कोभिड-१९ रिलिफ सपोर्ट ग्रुपले स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइसोलेशनमा सेवारत डा. सुरज घिमिरेको पहलमा उक्त संस्थाले आइसोलेशनका लागि रु ८९ हजार ६४० बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।