तनहुँ : नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि रेडक्रसले सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्य मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट प्राप्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, रेडक्रसका केन्द्रीय सदस्य प्रदिप घिमिरे र जिल्ला सभापति कृष्णहरि वाग्लेले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी आचार्य हस्तान्तरण गर्नुभएको हो ।
रेडक्रसले दमौली अस्पताललाई २० थान पिपिई र ५० प्याकेट मास्क, पुरनडिही अस्पताललाई एक थान अक्सिजन कन्सनट्रेटर, २५ प्याकेट मास्क र ५ थान पिपिई, बन्दिपुर अस्पताललाई एक थान अक्सिजन कन्सनट्रेटर, २५ प्याकेट मास्क, ५ थान पिपिई, सशस्त्र, प्रहरी र नेपाली सेनालाई ३० ÷३० प्याकेट मास्क सहयोग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयलाई सङ्क्रमितको शव व्यवस्थापनका लागि पाँच थान आवश्यक सामग्री समेत सहयोग गरिएको रेडक्रसकी मन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो ।