तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको आशङ्काले स्वाबको दायरा बढाउन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग अनुरोध गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका कर्मचारी सहित बसेको बैठकले उक्त अनुरोध गरेको हो ।
स्वाब सङ्कलनको दायरा बढाउन हप्ताको कम्तिमा तीन दिन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई स्वाब सङ्कलनको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । स्थानीय तहहरुको प्रत्येक वडाको स्वास्थ्य कार्यालयले जोखिमको क्षेत्र पहिचान गरी प्रदेशलाई जानकारी गराउनेछन् ।
साथै जिल्लाका स्थानीय तहहरुमार्फत् स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाइएका स्वाबको रिपोर्ट ढिला आउँदा सङ्क्रमण समुदायमा फैलिने भएकाले छिटो नतिजाको व्यवस्था गर्न अनुरोध गरिएको प्रशासन कार्यालयका अधिकृत राममणि मिश्रले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकाल, कन्सल्टेन्ट डा. ज्योति रानाभाट, नर्सिङ प्रशासक बविना कोइराला, दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी लगायतको सहभागिता थियो ।