तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि वरिष्ठ गायक एवं अमेरिकाको मेरिल्याण्डका अवैतिनक महावाणिज्यदूत प्रेमराजा महतले आर्थिक सहयोग गर्नुभएको छ ।
वाल्टिमोरमा बस्दै आउनुभएका शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी महतले शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि रु २५ हजार पाँच सय ५५ सहयोग गर्नुभएको हो । महतले पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले महतले उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।
जिल्लामा रहेका सञ्चारकर्मीहरुले गरेको राम्रो काममा आफ्नो सदैव सहयोग रहने महतले प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रको विकासका लागि आफू सदैव सकारात्मक रहेको उहाँको भनाई छ ।
शाखाका अध्यक्ष उज्जवल पौडेलले कल्याणकारी कोषमा सहयोग गरेकामा महतप्रति आभार व्यक्त गर्दै कोषमा सहयोगका लागि सबैलाई आह्वान गर्नुभयो । शाखाको जेठ १ गते बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम कोषमा सहयोग जुट्ने क्रम शुरु भएको छ ।
विसं २०३४ सालदेखि लोक गायन क्षेत्रमा सक्रिय महतले सिमसमे पानीमा, सालैको पातैले, पानको पात, बाँझो खेतमा छड्के सलाम छ लगायतका ८ सय भन्दा बढी गीतमा स्वर दिनुभएको छ ।
महतले हाल बाल्टिमोरमा नेपाली हाउस होटल सञ्चालन गर्दै आउनुभएको छ । महतले नेपालका विभिन्न सामाजिक सङ्घसंस्थाका अलवा अमेरिकामा समेत नेपाली समाज तथा मठमन्दिरमा सहयोग गर्दै आउनुभएको छ ।