भक्तजनको चहलपहल नभएपछि देवघाटका बाँदर भोकै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भक्तजनको चहलपहल नभएपछि देवघाटका बाँदर भोकै

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : निषेधाज्ञा हुनु अगाडी तनहुँको प्रसिद्ध देवघाटधाममा भक्तजनको बाक्लो चहलपहल हुन्थ्यो । देवघाटधाममा रहेका बाँदरहरुले भक्तजनले ल्याएका खानेकुरा खान्थे । तर कोरोना कहरका कारण गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण भक्तजन आउन नपाएपछि यहाँका बाँदर भोकै परेका छन् ।

    लामो समयदेखिको निषेधाज्ञाका कारण भक्तजन नआउँदा भोकै परेका बाँदरलाई केही सङ्घसंस्थाले भोजन गराउन थालेका छन् । हालैमात्र ब्लड डोनर्स सोसाइटीले यहाँका बाँदरलाई भोजन गराएको छ ।

    लामो समयदेखि खानेकुरा नपाउँदा बाँदरले सर्वसाधारणको अन्नबाली तथा फलफूल खाने तथा वृद्धवृद्धाको आश्रम भित्र पसी पकाएको खानेकुरा नै लिएर जाने जस्तो क्रियाकलाप गर्न थालेका थिए ।

    बाँदर भोकै परेको कारणले त्यसले मानिसमाथि नै आक्रमण गर्न थाल्ने अवस्था आउन थालेपछि सोसाइटीले बाँदरलाई फलफूल खुवाएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो । “कोरोना भाइरसको महामारीको कारण भएको निषेधाज्ञाको असर मान्छेमा मात्र नभएर पशुपंक्षीमा पनि परेको छ, देवघाटमा बाँदरहरु भोकै परेपछि उनीहरुलाई भोजन गरायौ,” उहाँले भन्नुभयो ।

    सोसाइटीले देवघाटको गलेश्वर चोक, देवघाट शिवालय मन्दिर आसपासमा रहेको भोका बाँदरहरुलाई फलफूल खुवाएको अधिकारीले जानकारी दिनुभयो । सोसाइटीले यहाँका तीन सय भन्दा बढी बाँदरलाई भोजन गराएको छ ।

    देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कोरोना भाइरसको प्रभाव मानिसमा मात्र नभई बाँदरहरुमा पनि देखिएको बताउनुभयो । पहिला दैनिक मठ, मन्दिरहरुमा पूजापाठ गर्न आउने तीर्थालु भक्तजनहरुले ल्याउने फलफूल अन्य खानेकुरा खाएर आफ्नो पेट भर्ने बाँदरले यतिबेला खानेकुरा नपाएको उहाँले बताउनुभयो ।

    देवघाटले यहाँका बाँदरलाई व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारसँग सन्वय गरेर बाँदर पार्क बनाउने योजना तयार गरेको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा शुन्य भएपछि बाँदरको आहारबिहारमा पनि समस्या देखिएको बताउनुभयो । घिमिरेका अनुसार देवघाटको तनहँु र चितवन दुवै तर्फ गरी दुई हजार पाँच सय भन्दा बढि बाँदर छन् ।