तनहुँ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक लम्ब्याइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई थप गर्ने निर्णय गरेको हो ।
तनहुँमा गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ ।
सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । बरालका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ ।
aadesh