तनहुँ जलविद्युत आयोजना : बाँधको पहुँच सुरुङ पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ जलविद्युत आयोजना : बाँधको पहुँच सुरुङ पूरा

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध जाने पहुँच सुरुङ पूरा भएको छ । काम शुरु गरेको चार महिनामा बाँध जाने पहुँच सुरुङको काम शुक्रबार पूरा भएको हो ।

    सडक पु¥याउन नसकिने भएकाले आयोजनाले पहुँच सुरुङ खनेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ३ सय १४ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।

    आयोजनाको प्याकेज १ अन्तर्गतको निर्माण कम्पनीले गर्नुपर्ने काम सम्झौतामा ढिलाई भएपछि प्याकेज २ अन्तर्गतको सिनो हाइड्रो कम्पनीले उक्त सुरुङ खन्ने काम पूरा गरेको हो । “मुख्य बाँध निर्माणका लागि पुनः बोलपत्र आह्वान गर्दा सम्झौता ढिलाई भयो, यसले काम प्रभावित हुने भएकाले प्याकेज २ अन्तर्गतको निर्माण कम्पनीलाई यसको काम गरायौ,” घिमिरेले भन्नुभयो, “सुरुङ सकिएपछि बाँधको काम शुरु गर्न पनि सहज हुने भएको छ ।” पहुँच सुरुङ सम्पन्न भएपछि पानी पठाउने मुख्य सुरुङ जान पनि सहज हुने भएको छ ।

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा रहेको तनहुँ जलविद्युत आयोजनाको काम निषेधाज्ञाको अवधिमा पनि सञ्चालन भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।

    आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको छ । केही समयअगाडी मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

    घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताउनुभयो । आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि रु १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिका अनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

    प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी तीन सय ७० परिचालित छन् । प्याकेज २ को कामका लागि दुई सय ५० श्रमिक क्याम्पभित्रै छन् ।

    प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेज अन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।

    प्याकेज ३ अन्तर्गतको प्रशारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रशारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । २३ वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र दश ठाउँमा काम शुरु भइरहेको छ ।

    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।