पेट्रोलियम पदार्थको मूल्य बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७८, शनिबार

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको तथा भारतीय आयल कर्पोरेशनले पनि बढेको नयाँ सूची पठाएकाले स्थानीय बजारमा समेत बढाएर मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

    उहॉका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक उडान) को मूल्य लिटरमा २ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोल १२३ रुपैयाँबाट बढेर प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ ।

    यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १०६ रुपैयाँबाट बढेर १०८ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तररिक उडान) को नयाँ खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।

    यो मूल्य समायोजनपछि पनि १५ दिनमा ५९ करोड २८ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ । नयाँ मूल्यअनुसार खुद्रा मूल्यमा बिक्री गर्दा पेट्रोलमा प्रतिलिटर ५.३२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.१७ रुपैयाँ र खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिण्डर २५८.४६ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । जसमा खाना पकाउने ग्यास र डिजेल बिक्रीबाट मात्रै क्रमशः ३८ करोड र १८ करोड रुपैयाँ घाटा हुने भनिएको छ ।

    पेट्रोलियम पदार्थको बिक्रीबाट अहिले भइरहेको घाटा संचितिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने भएको छ ।संचितिकरण कोषमा १२ अर्ब रुपैयाँ छ । निगमले कोषको रकमबाट घाटा व्यवस्थापन गर्ने अनुमतिका लागि वार्णिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।