


दुलेगाैडा : चार दिनदेखि श्रीमती बिरामी हुनुभयो । कोरोना सङ्क्रमणको शङ्का लागेर वैशाख २८ गते उहाँले श्रीमतीसंगै आफ्नो पनि पिसिआर परीक्षण गर्नलाई स्वाबको नमुना दिनुभयो । वडाबासीको सेवामा निरन्तर खटिएका उहाँसँगै श्रीमतीलाई जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।
कोरोना सङ्क्रमण बढेसँगै उहाँको परिवारले पनि सावधानीका उपाय अपनाएको थियो । ‘खै कुन्नी कहाँबाट कसरी स¥यो कोरोना !’, वडाको कामले डुलिरहने उहाँले मेसो पाउनुभएको छैन ।
श्रीमतीलाई बिसञ्चो भएपनि आफूलाई कोरोना पुष्टि हुँदासम्म उहाँ अर्थात् शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठलाई कुनै लक्षण देखिएको थिएन । तन्दुरुस्त नै हुनुहुन्थ्यो । कोरोना पुष्टि होला भन्ने शङ्का समेत गर्नुभएको थिएन उहाँले ।
जब कोरोना पुष्टि भयो केही दिनपछि मात्रै उहाँलाई गलाउँदै लग्यो । उच्च ज्वरो आयो । ज्यान दुखेर शिथिल बन्यो, उहाँ बोल्नै नसक्ने हुनुभयो । खानेकुरा केही हेर्नै मन नलाग्ने रे उहाँलाई । बिस्तारै शरीरमा अक्सिजनको लेभल घट्दै गयो । कोरोनाले यतिसम्म सतायो की होम आइसोलेशनमा बसेका वडाध्यक्ष दम्पत्तिलाई अक्सिजन नै दिनुप¥यो । पोखरास्थित मणिपाल अस्पतालमा कार्यरत स्टाफ नर्स छोरीले स्याहारसुसार गरिन् । छोरीको मणिपालको कोरोना वार्डमा काम गर्दाको अनुभवले सघायो पनि । अलिक अफ्ठ्यारो हुँदा पोखरा लगेर परीक्षण गरिन्थ्यो ।
१४ जेठमा दोस्रो पटक स्वाब दिएका वडाध्यक्ष दम्पत्ति १६ जेठमा कोरोनामुक्त भएको रिपोर्ट प्राप्त भयो । आधा महिनासम्म कोरोनासँग लड्नुभएका वडाध्यक्ष श्रेष्ठ औषधिसँगै आत्माबल, पोषिला खानेकुरा र स्याहारसुसारले कोरोनालाई परास्त गर्न सफल भएको बताउनुहुन्छ । ‘औषधि र स्याहारसुुसार त नभई हुँदैन । सङ्क्रमितको आत्मबल पनि चाहिन्छ,’ उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।
कोरोना पुष्टि हुँदा पनि आफू नडराएको उहाँले बताउनुभयो । ‘मनोबल दरो बनाएर कोरोना केही होइन, जसरी पनि मैले जित्छु भन्ने थियो । कोरोना पोजेटिभ हुँदैमा केही हुन्छ की भन्ने पिर गरिन । ढुक्कसँग जित्छु भनेरै बसे,’ उहाँले भन्नुभयो । सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दा आफन्त ईष्टमित्र, साथीभाई र शुभचिन्तकको सकारात्मक फोनकल र म्यासेजले समेत आत्माबल बढाएको उहाँको अनुभव छ ।
सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दा आफ्नो स्वास्थ्यसँगै वडाबासी जनताको चिन्ताले सताएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोना नियन्त्रणसँगै चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजनाका काम अधुरो रहने चिन्ता बढी हुने गरेको उहाँले उल्लेख गर्नुभयो । जेठ ४ गते उहाँ वडाध्यक्ष निर्वाचित भएर सपथ ग्रहण गरेको चार वर्ष पूरा भयो । सोही अवसरमा हालसम्म वडामा भएका प्रगति कार्यक्रम गरेर वडाबासीलाई जानकारी गराउने इच्छा कोरोना सङ्क्रमित भएपछि पूरा नभएको उहाँ बताउनुहुन्छ ।
जसरी आफू सङ्क्रमित हुनु पहिले कोरोनालाई सामान्य ठान्नुभएको थियो, उहाँको त्यो धारणामा परिवर्तन भएको छ । उहाँ भन्नुहुन्छ, ‘पहिला त केही होइन जस्तो लाग्दथ्यो । लागेपछि खतरा नै रैछ था भो ।’ कोरोनासँग हेलचक्रयाँई नगर्न उहाँको सुझाव छ । ‘सबै सुरक्षित घरमै बसौँ । बिना कामले बाहिर नडुलौ, आफ्नो ज्यानको सुरक्षा गरौँ,’ उहाँको अनुरोध छ ।