


पूर्णकुमार स्मृति शुक्लागण्डकी एफएम पुरस्कार तथा सम्मानार्थ घोषणा गर्दै एफएमका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ ।
दुलेगौँडा : सञ्चार उद्यमी एवम सामाजिक अभियान्ता पूर्णकुमार श्रेष्ठको स्मृतिमा रु तीन लाखको अक्षयकोष घोषणा गरिएको छ । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम दुलेगौडाले आइतबार श्रेष्ठको निधनको १३ औ पुण्यतिथिको अवसर पारी अक्षयकोषको घोषणा गरेको हो ।
श्रेष्ठको स्मृतिमा घोषणा भएको अक्षय कोषले तीन विधामा पुरस्कार वितरण गरिने शुक्लागण्डकी एफएमका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त व्याजले पत्रकारिता, साहित्य र समाजसेवा तीन विधामा क्रियाशिल व्यक्तिलाई सम्मान गर्ने उहाँले बताए । यी तीन विधामा स्वर्गीय श्रेष्ठ सक्रिय हुनुहुन्थ्यो ।
२०७९ साल असोज ४ गतेदेखि पुरस्कार वितरण थालिनेछ । वर्षेनी तीन विद्यामा उत्कृष्ट व्यक्तिलाई सम्मान गरिनेछ । पत्रकारिता र साहित्यमा तनहुँ जिल्लामा क्रियाशिललाई पुरस्कार दिईनेछ भने सामाजिक विधामा भने शुक्लागण्डकीमा क्रियाशिल रहेकालाई दिईनेछ ।
स्वर्गीय श्रेष्ठलाई समाजमा जीवन्त राख्न अक्षयकोषको घोषणा गरी पुरस्कार वितरणको योजना बनाएको संस्थापक अध्यक्ष श्रेष्ठको भनाई छ । “उहाँलाई समाजमा जीवित राख्ने प्रयास गरेका हौ,” उहाँले भन्नुभयो ।
अक्षय कोषका लागि श्रेष्ठको परिवार, रेडियोको शेयर सदस्यसँगै देश विदेशबाट सहयोग प्राप्त भएको रेडियोका स्टेशन म्यानेजर राजन उपाध्यायले बताउनुभयो । अक्षयकोषलाई व्यवस्थित गर्न संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा सल्लाहकार आनन्दसुन्दर श्रेष्ठ र स्टेशन म्यानेजर राजन उपाध्याय सदस्य रहेको समिति गठन गरिएको छ ।
शुक्लागण्डकी एफएमका अध्यक्ष श्रेष्ठको गत जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । एकाविहानै मर्निङ वाक निस्किनुभएका उहाँ बाटोमै ढलेर बेहोस हुनुभएको थियो । उपचारका लागि दुलेगौडास्थित तनहुँ सेवा हस्पिटल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ऋषिङ स्थायी घर हुनुभएका श्रेष्ठको परिवार दुलेगौडामा बसोबास गर्दै आएको छ । उहाँ सञ्चारसँगै फेन्सी व्यवसाय, सहकारी, पर्यटन, साहित्य लगायतका सङ्घसंस्थामा आबद्ध हुनुहुन्थ्यो ।