


तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न आधारसहित निवेदन दिएमात्रै सवारी साधनको पास उपलब्ध गराउन सकिने जनाएको छ । प्रशासन कार्यालयले आइतबार सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौको पूर्व स्वीकृती लिएर मात्र सवारी सहजीकरणका लागि निवेदन दिन आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत राममणि मिश्रले जारी गर्नुभएको सूचनामा सोही अनुसार मात्र सिफारिस गरी पठाउने व्यवस्थाका लागि सबै वडा कार्यालयलाई जानकारी गराउन स्थानीय तहहलाई अनुरोध गरिएको छ ।
निषेधाज्ञा अवधिमा काठमाडौ प्रवेश गर्ने सवारी आवगमनलाई थप व्यवस्थित बनाउन गण्डकी प्रदेश लगायतका देशका अन्य विभिन्न स्थानबाट अत्यावश्यक काममा काठमाडौ प्रवेश गर्नुपर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौको पूर्व स्वीकृत लिएर मात्र सवारी आवगमनमा सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
सवारी साधन पासका लागि स्थानीय तहको सिफारिस अनिवार्य चाहिने तर बिरामीको हकमा अस्पताल वा डाक्टरको सिफारिस मात्र भएको पुग्नेछ । विदेश जानेको हकमा भिसा, टिकेट लगायत वायोमेट्रिक्स आदिका लागि आउने भए सो खुल्ने कागजात, सरकारी कर्मचारी सरुवा वा अनुगमन वा विदाबाट फिर्ता हुने भए सो खुल्ने कागजात सहितको निवेदन दिन आग्रह गरिएको छ ।