


तनहुँ : व्यास नगरपालिकाले युवा परिषद्मा सदस्य मनोनित गरेको छ । नगरकार्यपालिकाको आइतबार सम्पन्न बैठकले युवा परिषद्मा चार सदस्य मनोनित गरेको हो।
मनोनित हुनेमा व्यास-१ का सुनिल मिश्र, व्यास-२ का एलोज श्रेष्ठ, व्यास-४ का सन्जु घले र व्यास-११ की निशा भण्डारी रहनुभएको छ । नगरपरिषद् ५१ सदस्यीय बनाउने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विभिन्न पेशा, व्यवसाय, अध्ययन र अन्य क्षेत्रमा रहेका युवालाई समेटेर युवा परिषद् गठन गरिनेछ । युवा परिषद्मा १८ देखि २८ वर्ष उमेर समूहका युवा समेटिनेछ ।
नगरपालिकाले युवा परिषद्को कार्यकारी उपाध्यक्षमा यसअघि नै गौरव पन्थलाई नियुक्त गरिसकेको छ । युवा परिषद्ले युवा लक्षित नीति, कार्यक्रम तजुर्मा लगायत युवाको सर्वाङ्गीण विकासका लागि काम गर्नेछ ।