


दमाैली : व्यास नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण गर्ने भएको छ । न्यून विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई भौगोलिक अवस्थाको समेत विश्लेषण गरी एकीकरण प्रकृया अगाडी बढाउने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले विद्यालय एकीकरण गर्ने शिक्षक दरबन्दी मिलान गर्ने तयारी गरेको जनाएको छ । साथै जेठ मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा भएको प्रगति उपर समिक्षा गरी तोकिएको मितिभित्र समिति गठन नभएका विद्यालयको हकमा असार १ गतेदेखि लागू हुने गरी वडा समितिको समन्वयमा तदर्थ समिति गठन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगर कार्यपालिकाका थप निर्णय :
मिति २०७८/०२/२३ गते व्यास नगर कार्यपालिकाको वैठक नगर सभा कक्षमा नगर प्रमुख वैकुण्ठ न्यौपानेकाे अध्यक्षतामा सम्पन्न भयो। उक्त वैठकद्वारा समसामयीक विषयहरुमा निम्नानुसार निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।
१) २०७८/०२/०७ गते नगर कार्यपालिका वैठकबाट भएका निर्णयहरु र कार्यान्वयन सम्बन्धमा समिक्षा गरियो ।
२) कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि यस नगरपालिकाद्वारा हालसम्म भए गरेका देहाय बमोजिमका मुख्य मुख्य कार्यहरुको सम्बन्धमा जानकारी प्राप्त भयो ।
क) व्यास-१० दुम्सीमा स्थापना गरिन लागिएको पि.सि.आर प्रयोगशालाको भवनमा पुर्वाधार निर्माण कार्य सम्पन्न भएको, मेसिनरी कार्यका लागि गण्डकी प्रदेश प्रयोगशालाका तर्फबाट अध्ययन गरि आवश्यक सामाग्रीहरुको खरीद प्रकृया अघि बढाइएको ।
ख) प्रयोगशाला निर्माणका लागि व्यास-११ स्थित सृजनाशिल दिदीबहिनि समुहको तर्फबाट रु. ५०,००५।-, व्यास ०३ निवासी श्री बुद्दीकुमार बतासको तर्फबाट रु.११,०००।-, संघीय सरकारको तर्फबाट रु.२५,००,०००।-, गण्डकी प्रदेश सरकारबाट रु.५०,००,०००।-, व्यास नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको प्राप्त हुन आउने सेवा सुविधा बराबरको रकम सहयोग प्राप्त भएकाले सम्पुर्ण सहयोगदाताहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
ग) व्यास नगरपालिकाबाट २०७८ वैशाख देखी जेठ २१ गतेसम्म जम्मा ८९९ जनाको पि.सि.आर. परिक्षण एवं २१७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा पि.सि.आर. बाट महिला १५५, पुरुष १८७ समेत जम्मा ३४६, एन्टिजेन बाट महिला ३९, पुरुष २७ समेत जम्मा ६६ जना संक्रमित भई कुल ४१२, अन्य निजी स्वास्थ्य संस्थाहरु मार्फत गरिएको पि.सि.आर/एन्टिजेन परिक्षणबाट २२१ समेत कुल जम्मा ६३३ जना संक्रमित रहनुभएको, संक्रमितमध्य १८ जनाको मृत्यू भएको, ४१२ जना संक्रमणमुक्त भइसक्नु भएको र २०३ जना सकृय संक्रमित रहनु भएकोमा व्यास नगरपालिकाले व्यवस्थापन गरेको सामुदायीक आइसोलेसन केन्द्रमा ३३ जना उपचाररत रहनु भएको, अन्य संक्रमित विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचाररत रहनुभएको ।
३) नेपाल सरकारबाट उपलब्ध भएको कोभिड-१९ बिरुद्दको खोप भेरोसिल यस नगरपालिका भित्रका खोप उपलब्धतालाई मध्यनजर गरि प्राथमिकताको आधारमा क्रमशः ६४ वर्ष, ६३ वर्ष, ६२ वर्ष,६१ वर्ष र ६० वर्ष पुगेका नगरबासी नागरीकहरुलाई मात्र २०७८/०२/२५ गते नगरपालिका अन्तरगतका प्रत्येक वडाका स्वास्थ्य केन्द्रहरुमा लगाइने र विशेष कारणवस २५ गते वडामा लगाउन छुट भएकाहरुको लागि २०७८/०२/२६ गते व्यास नगरपालिकाको सभाकक्षबाट लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या शाखालाई निर्देशन दिने निर्णय भयो ।
४)विपद् व्यवस्थापन सम्बन्धमा वडागत जोखिम क्षेत्रहरु तोक्ने, २०७७ असारमा बाढी, पहिरोबाट भत्किएका घरहरुको ३ दिनभित्र सर्वेक्षण सम्पन्न गर्ने र घर निर्माण प्रकृया अगाडि बढाउने, हाल विपदबाट पिडित परिवारलाई वडाको सिफारीसका आधारमा तत्काल राहत वितरण गर्ने निर्णय गरियो।
५) आ.ब २०७८/०७९ को वजेट, नीति तथा कार्यक्रमको तयारी चलिरहेकाले सम्पुर्ण नगरबासीं, व्यवसायी, नागरीक समाज,
राजनैतिक दल, जनप्रतिनिधिहरु संग २०७८/०२/२८ गतेसम्म Online मार्फत तथा प्रत्यक्ष रुपमा सुझाब माग गर्ने निर्णय गरियो ।
६) आ.ब २०७८/०७९ को श्रोत अनुमान तथा वजेट सिमा निर्धारण सम्बन्धमा बैठकमा जानकारी प्राप्त भयो ।
७) आ.ब २०७८/०७९ को वजेट कार्यक्रम तर्जुमाका लागि तोकिएको श्रोत अनुमान र सिमाको आधारमा २०७८ जेठ मसान्त भित्र पेश गर्न वजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिने निर्णय गरियो ।
८) यस नगरपालिका भित्रका न्यून विद्यार्थी संख्या भएका विद्यालयलाई भौगोलिक अबस्थाको समेत विश्लेषण गरि विद्यालय एकीकरण प्रकृया अगाडि बढाउने, दरबन्दी मिलान गर्ने, जेठ मसान्त भित्र विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा भएको प्रगति उपर समिक्षा गरी तोकिएको मिति भित्र व्यवस्थापन समिति गठन नभएका विद्यालयहरुको हकमा असार १ गते देखि लागु हुने गरी वडा समितिको समन्वयमा तदर्थ विद्यालय व्यवस्थापन समिति गठनका लागि आवश्यक तयारी गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरियो ।
९) व्यास नगरपालिका युवा परिषद्को कार्यकारीणी समितिमा श्री सुनिल मिश्र, व्यास-०१, श्री एलोज श्रेष्ठ, व्यास-०२, श्री निशा भण्डारी, व्यास-११ र श्री सञ्जु घले, व्यास-०४ लाई मनोनयन गर्ने र ५१ जनाको युवा परिषद् गठन गर्ने निर्णय गरियो।
१०) नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभाग र यस नगरपालिका विच मिति २०७७/११/२१ गते भएको सम्झौता अनुसार विश्व वैंकको सहयोगमा निर्माण हुने पुर्वाधारहरुको डिजाइन तथा सुपरभिजन गर्ने परामर्शदाता नियुक्त गर्न TOR(कार्यविवरण) तथा Evaluation Criteria(मुल्याङकनका आधार) स्वीकृत गर्ने निर्णय गरियो ।