बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा तनहुँका स्थानीय तह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा तनहुँका स्थानीय तह

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०७८, सोमबार

    तनहुँ : असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् ।

    नेपालको संविधानद्वारा प्रदत्त स्थानीय तहको अधिकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय तह वार्षिक बजेट तथा योजना तर्जुमा दिग्दर्शन २०७४, पन्ध्रौ पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्यहरुको स्थानीयकरण रायसँग तादाम्यता हुने गरी नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा तनहुँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् ।

    आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई इमेलमार्फत् सुझाव माग गरिएको सदरमुकामस्थित व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    श्रेष्ठका अनुसार सम्पूर्ण नगरवासी, व्यवसायी, नागरिक समाज, राजनैतिक दल लगायतलाई जेठ २८ गतेसम्म इमेल तथा प्रत्यक्ष रुपमा सुझाव माग गरिएको छ । “आर्थिक वर्ष ०७८/७९ को श्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा जानकारी प्राप्त भएकाले तोकिएको श्रोत अनुमान र सीमाको आधारमा २०७८ जेठ मसान्तभित्र पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिइएको छ,” प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

    शुक्लागण्डकी नगरपालिकाले पनि इमेलमार्फत् आगामी वर्षको योजनाका लागि सुझाव माग गरेको छ । “पर्यटन, कृषि र पूर्वाधार : समृद्ध शुक्लागण्डकीको आधार” लाई मुख्य रणनैतिक लक्ष्यका साथ नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक सुझाव दिन राजनैतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, शिक्षक, बुद्धिजीवि, पेशा व्यवसायीलाई जेठ ३१ गतेसम्म सुझाव दिन अनुरोध गरिएको छ ।

    बन्दीपुर गाउँपालिकाले बीस वर्षे एकीकृत विकास गुरुयोजनाको दीर्घकालिन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले जेठ २७ गतेभित्र सरोकारवालाहरुको बजेट माग गरेको छ ।

    “गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ,” उहाँले भन्नुभयो, “सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।”

    म्याग्दे गाउँपालिकाले पनि जनताको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने लक्ष्य लिएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि रु ६५ करोड ६६ लाख ३१ हजारको बजेट ल्याउने तयारी गरेको छ ।