देवघाटका घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटका घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०७८, सोमबार

    देवघाट : जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिन अगाडी बसेको समन्वय समितिको बैठकले त्रिशुलीको नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटहरुमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो ।

    गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा लगाएको ठेक्का व्यवस्थामा ठूलो सङ्ख्यामा एक्साभेटर मेसिनरी औजारको प्रयोग भई गैरकानुनी रुपमा उत्खनन् भई रहेको भनी विभिन्न सञ्चार माध्यममा सूचना प्रवाह भएको, विभिन्न राजनैतिक दलहरुको तर्फबाट प्रेस विज्ञप्ती सार्वजनिक भई गम्भीर ध्यानाकर्षण गराइएको साथै समुदायस्तरबाट समेत अनुगमन समितिका प्रमुख समक्ष मोवाइल र टेलिफोनबाट गुनासो आएको समन्वय समितिले जनाएको छ ।

    उक्त बैठकमा देवघाटका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले पालिकाले आन्तरिक आयस्रोत सङ्कलनका लागि वातावरणीय अध्ययन प्रतिवेदन गराई गाउँसभा र गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार ठेक्का व्यवस्थापनको प्रकृया अगाडी बढाएको बताउनुभएको थियो । देवघाटको मिति २०७७ फागुन २० गते स्वीकृत भई २८ गते प्रमाणित भएको नदी किनारा तथा घाटहरुबाट प्राकृतिक नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धमा मेसिनरी उपकरण प्रयोग, अनुगमन तथा नियमन सम्बन्धी कार्यविधि २०७७ को व्यवस्था बमोजिम निर्णय गरी मेसिनरी औजारको प्रयोग गरिएको सापकोटाले बताउनुभयो ।

    तर समन्वय समितिले गाउँपालिकाले ढुङ्गा, गिटी बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन गर्ने प्रयोजनको स्वीकृत गरेको वातावरणीय अध्ययन प्रतिवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको मापदण्डको व्यवस्था बमोजिमका प्रावधान समावेश भएको नदेखिएको जनाएको छ । ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा पालिकाले मेसिनरी औजारको प्रयोग गर्ने गराउने सम्बन्धमा नेपाल सरकारबाट स्वीकृत भएको मापदण्ड २०७७ को पालना गर्नुपर्ने र सोही अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी कार्य गर्नुपर्ने व्यवस्था रहेको छ ।

    “उक्त स्थानहरु धार्मिक महत्वका क्षेत्रका साथै चुरे संरक्षण क्षेत्रमा समेत पर्ने देखिएकाले तत्काल मेसिनरी औजार प्रयोग रोक्न निर्देशन दिइएको छ,” समन्वय समितिको निर्णयमा भनिएको छ ।

    देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले जथाभावी रुपमा उत्खनन् गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएका थिए । उनीहरुले गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन् रोक्न माग गर्दै घाटको आइइ प्रतिवेदन, ठेक्का सम्झौता र उत्खनन् गरेको परिमाणको विवरण सार्वजनिक गर्न माग गरेको थियो ।