दमाैली : जेसीआई व्यास नगरले गर्भवती, डायलासिस र दमका बिरामीलाई सोमबार यातायात सेवा उपलब्ध गराउनुका साथै एक व्यक्तिको उद्धार गरेको छ । कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको जेसीआई व्यास नगरले सोमबार गर्भवती, डायलासिस र दमका बिरामीलाई अस्पतालसम्म लैजान यातायात सेवा प्रदान गरेको हो ।
व्यास नगरपालिका–६ शिशाघाटकी ६ महिनाको गर्भवती अंशु पन्तलाई दमौलीस्थित दाहाल अस्पतालमा ल्याई पुनः घरसम्म लगेर छाडिएको जेसीआई व्यास नगरका महासचिव अजर नागिलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ऋषिङ–१ कोइदिमका मिर्गौला पीडित मिनमाया थापालाई दमौली अस्पतालबाट डायलासिस पश्चात् घर छाडिएको छ ।
त्यसैगरी व्यास–१० अधेरीभञ्ज्याङका दमका बिरामी ७० वर्षीय सुकराम विकलाई दमौली अस्पतालमा यातायात उपलब्ध गराइएको नागिलाले बताउनुभयो । साथै जेसीआईले व्यास–१४ छाब्दीबाट मानसिक अपाङ्गताका एक व्यक्तिलाई उद्धार गरी दमौली अस्पताल पु¥याएको छ । ती व्यक्ति वेवारिसे अवस्थामा रहेको खुट्टामा किरा परेकाले उपचारका लागि अस्पताल लगेर छाडिएको छ ।
कोभिड–१९ र निषेधाज्ञाका कारण भनेको बेला एम्बुलेन्स वा सवारी पाउन मुस्किल छ । सङ्कटको बेला सबल र पहुँचवालाले सहजै यातायात व्यवस्थापन गर्न सकेपनि विपन्न वर्गले स्वास्थ्य संस्थासम्म जान यातायात व्यवस्थापन गर्न कठिन छ ।
गर्भवती, सुत्केरी र विपन्न वर्गका लागि लक्षित गरी जेसीआई व्यास नगरले सञ्चालन गरेको निःशुल्क यातायात सेवा प्रभावकारी देखिएको छ । कोभिडका कारण गाउँमा रहेको अशक्त, असहाय जनतालाई पर्ने समस्यालाई मध्यनजर गर्दै घर तथा गाउँबाट अस्पतालसम्म बिरामीलाई ल्याउने काम गरेर सामाजिक उत्तरदायित्व वहन गरेको अध्यक्ष लक्ष्मीभक्त खनालले बताउनुभयो ।