दुलेगौडा : भिमाद नगरपालिकामा १ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा छन् । बाँकी सबै होम आइसोलेशनमा ।
छन त नगरपालिकाले भिमाद बजारस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको ५ बेडको आइसोलेशन बनाएको छ । तर, यहाँ १ जना पनि संक्रमित नरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो आइसोलेशनमा १० वटा अक्सिजनका सिलिन्डर व्यवस्थापन गरिएको छ ।
भिडियो एक्सरे सुविधा समेत उपलब्धता रहेको आइसोलेशनमा होल्डिङ सेन्टरको रुपमा मात्रै प्रयोग हुदैँ आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बराल बताउनुहुन्छ । ‘यहाँ चाहीँ केही समय संक्रमितलाई राखिन्छ, हेल्डिङ सेन्टरको रुपमा सञ्चालान भा’को छ,’ उहॉले भन्नुभयो, ‘अलि राम्रो अवस्था छैन् भने उता जिपीतिर पठाइन्छ ।’
सामान्य स्वास्थ्य अवस्था भएकालाई होम आइसोलेशनमै राख्ने गरेको बरालले जानकारी दिनुभयो । संक्रमितलाई होम आइसोलेशनमा राख्दा संक्रमण झनै बढाएको बराल स्वीकार्नुहुन्छ । उहॉ भन्नुहुन्छ, ‘यसमा दुईमत छैन् । राज्यले, स्थानीय तहले नसकेर केही साप नलागेर मात्रै हो ।’ नत्र होम आइसोशनमा कोरोना संक्रमणको चेन ब्रेक गर्न नसक्ने उहॉ बताउनुहुन्छ ।
बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालमा १५ बेडको आइसोलेशन बनाएको छ । आवश्यकता अनुसार ३० बेड बनाउन सकिने यहाँ पनि हाल आइसोलेशनमा बस्ने कोही छैनन् । समाचार तयार पार्दासम्म स्वास्थ्य कार्यालय तनहुँले दिएको तथ्याङ्कमा ५३ जना बन्दीपुरे संक्रमित होम आईसोलेसनमा छन् । ‘नर्मल केस भा’को कारणले हो । अक्सिजन दिनुपर्नेलाई अस्पतालको आईसोलेसनमा भर्ना गर्ने गर्छौँ’, गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भन्नुभयो ।
गाउँपालिकामा होम आइसोलेशनमा राख्दा पनि कोरोना नियन्त्रण गर्न सकिएको उहॉ दावी गर्नुहुन्छ । ‘संक्रमण देखिएपछि एक घरबाट अर्को घरमा मान्छे गएनन्’, उहॉले भन्नुभयो । प्रत्यक्ष संक्रमितलाई भेटेर निगरानी गर्ने उहॉले जानकारी दिनुभयो ।
बन्दीपुर र भिमादको मात्रै होइन जिल्लाका ७ स्थानीय तहका आइसोलेशन रित्तै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कले देखाउँछ । व्यास, ऋषिङ र घिरिङका आइसोलेशनमा मात्रै संक्रमित बसेको उक्त तथ्याङ्कले पुष्टि गरेको छ । शुक्लागण्डकी र भानु नगरपालिका सहित म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । जटिल अवस्थाका एकाध भने पोखरा चितवनका अस्पतालमा उपचाररत रहेको अनुमान छ ।
तनहुँका १० वटै स्थानीय तहमा २ हजार १ सय ८७ जनामा दोस्रो लहर सुरु भएयता कोरोना पोजेटिभ पुष्टि भएको छ । तीमध्ये ९ सय ३९ निको भएका छन् । ६४ जनाको मृत्यु हुदाँ सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८४ छ ।
तीमध्ये आइसोलेशनमा ७४ जना रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । उहॉका अनुसार व्यास नगरपालिकाको आइसोलेशनमा ३०, दमौली अस्पतालको आइसोलेशनमा ११, जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा २७, ऋषिङ गाउँपालिकाको आइसोलेशनमा ४ र घिरिङ गाउँपालिकाकोमा २ जना संक्रमित उपचाररत छन् ।
१० स्थानीय तह र २ अस्पतालमा १ सय ९५ बेडको आइसोलेशन तयार छ । दमौली अस्पतालमा ७ आईसियु र ४ भेन्टिलेटर छ । जिपीमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट ल्याएर २ भेन्टिलेटर चलाईएको छ । जिल्लाभर ३ सय १६ सिलिन्डर र २९ एम्बुलेन्स संक्रमितको उपचारका लागि जोहो गरिएको छ ।
बन्दीपुर गाउँपालिकासंगै देवघाट गाउँपालिकाले पनि संक्रमितलाई घरमै गएर भेट्ने गरेको छ । शुक्लागण्डकीका केही वडाले पनि यो अभियान चलाएका छन् । होम आइसोलेशनमा बसेकालाई अधिकांश स्थानीय तहले निरीक्षण गर्न सकेका छैनन् । केही स्थानीय तहका जनप्रतिनिधि संक्रमितको घर–घरै पुगेर उनीहरुको अवस्था निरीक्षण गरेपनि नियमित नहुदाँ प्रभावकारी भने भएको छैन।
जनप्रतिनिधिसँगै टोल विकास संस्था, परिवारका सदस्यले पनि होम आइसोलेशनमा बस्ने संक्रमितको निगरानी राख्नुपर्ने भिमादका जनस्वास्थ्य अधिकृत बरालको सुझाव छ । सीमित स्रोत साधनमा आफूहरु संक्रमितको घर–घरमा पुग्न नसकेको उहॉले बताउनुभयो । तर, फोनबाटै भएपनि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिएर मनोबल उच्च बनाउन काम भईरहेको सुनाउनुभयो ।