पाको उमेरकाले लगाए भेरोसेल खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाको उमेरकाले लगाए भेरोसेल खोप

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७८, मंगलवार


    तनहुँ : व्यास नगरपालिका-५ कन्टारका ६४ वर्षीय तारा खनाल हतारहतार गदै साँझको साढे चार बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो।

    खोप लगाए पछि खनाल खुशी हुनुहुन्छ । “सरकारले हामीलाई खोपको व्यवस्था गरेर राम्रो गर्यो । सबैले लगाउन पाए राम्रो हुन्थ्यो,” उहॉले भन्नुभयो, “धेरै अझै छुट्नु भएको छ । उहाँहरुलाई पनि छिटो लगाइयोस् ।”

    चीन सरकारले अनुदानमा पठाएको भेरोसेलको खोप यहाँ ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको छ । “स्थानीय स्तरमा खोप केन्द्र निर्धारण गरेर खोप लगाउने अभियान चलेको छ,” व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भन्नुभयो, “सरकारले तोकेको मापदण्ड भन्दा तलमाथि नपर्ने गरि खोप लगाइन्छ ।”

    यस्तै काठमाडौँ उपत्यका बाहिर रहेका तर, भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी भएकाहरुलाई पनि यस अभियान अन्तर्गत खोप लगाएको छ ।“काठमाडौँमा पहिलो मात्रा लगाइयो । दोस्रो मात्रा लगाउन छुटेको थियो । यसपालि लगाउन पाइयो,” पतेनीका रामकुमार पौडेलले भन्नुभयो।

    जिल्लामा यसपटक करिब ४ हजार ९ सय जनालाई भेरोसेल खोप लगाउने लक्ष रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । जिल्लामा ९९ वटा खोप केन्द्र मार्फत खोप लगाइएको छ । मंगलबार छुटेका जेष्ठ नागरिकलाई बुधबार लगाईने बताईएको छ ।