तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका-४ निवासी एक दम्पत्तिलाई दुई दिन अगाडी कोरोना सङ्क्रमण पुष्टि भयो । सङ्क्रमणपछि घरमै बसिरहनुभएका उहॉहरुलाई केही असहज भएको महशुस भयो ।
अस्पतालसम्म पुर्याउन गाउँपालिकाको गाडी खोजी भयो । जनप्रतिनिधिले चढ्दै आएको गाडीलाई गाउँपालिकाले एम्बुलेन्स बनाएको थियो । तर उक्त गाडी स्वाब लिएर पोखरा पुगेको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले आफ्नै निजी गाडीमा सङ्क्रमित दम्पत्तिलाई अस्पतालसम्म पुर्याउनुभएको छ ।
“अरु एम्बुलेन्स खोज्नतिर लाग्नुभन्दा आफ्नै गाडी आफैले चलाएर उहॉहरुलाई अस्पताल भर्ना गराएको छु,” थापाले भन्नुभयो । गाउँपालिकाले एम्बुलेन्स खरिदको प्रकृया अगाडी बढाएपनि ढिलाई भएपछि जनप्रतिनिधिले चढ्दै आएको गाउँपालिकाले सर्वसाधारणलाई सेवा दिँदै आएको छ । “सङ्क्रमित दम्पत्तिलाई अलि असहज भएको महशुस भएपछि म आफैले गाडी चलाएर अस्पताल पुर्याएको हुँ,” थापाले भन्नुभयो, “जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तव्य हो ।”
बन्दीपुर अस्पतालमा अक्सिजन सहितको आइसोलेशन बनाइएको छ। असहज हुनेहरु अस्पताल आउने र सामान्य अवस्थाका सङ्क्रमित भने होम आइसोलेशनमा बस्दै आएका छन् । होम आइसोलेशनका सङ्क्रमितको अवस्था बुझ्न गाउँपालिकाले घरदैलो अभियान पनि जारी राखेको छ ।