लक्षित समूहले खोप नपाएको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लक्षित समूहले खोप नपाएको गुनासो

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बिहीबार

    भानु : तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् ।

    स्थानीय रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताउनुभयो । “बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता पठाए,” उहाँले भन्नुभयो, “लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने ?” उहाँले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाउनुभयो । “आफ्ना नातेदार, चिनेजानेका व्यक्ति र २५-३० वर्ष उमेरका मान्छेलाई पनि खाेप लगाइयाे तर लक्षित समूहकाले खाेप पाएनन्,” उहाँले भन्नुभयाे ।

    स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुङ्गानाले स्वास्थ्यचौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिनुभयो । खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षलाई सम्पर्क गरेर वडाध्यक्षको निर्देशन बमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

    “६४ वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौ, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन्नुभयो,” उहाँले भन्नुभयो, “स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन ।”

    उहाँका अनुसार १२ बजेपछि केही व्यक्ति आएर खोप लगाउनुपर्छ भन्दै दुव्र्यवहार समेत भएको छ । “म माथि हातपात पनि भएको छ, झगडा गर्न आए,” उहाँले भन्नुभयो, “कोल्डचेन व्यवस्थान नहुँदा दिनभर राख्दा खोप बिग्रन सक्थ्यो, यति त्यस्तो भएको भए फेरि मै माथि गाल पथ्र्यो,” उहाँले भन्नुभयो ।

    वडाध्यक्षकै मौखिक निर्देशनमा लक्षित समूह बाहेक क्याम्पस प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यलाई भने खोप लगाएको उहाँले स्वीकार गर्नुभयो । यस वडामा ६२, ६३ र ६४ उमेर समूहका तीन सय नागरिक छन् ।