केपी ओलीको विकल्प काङ्ग्रेसको पहिलो प्राथमिकता : पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केपी ओलीको विकल्प काङ्ग्रेसको पहिलो प्राथमिकता : पौडेल

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७८, शुक्रबार

    दमाैली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी ओलीको बहिर्गमन काङ्ग्रेसको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल तरुण दल तनहुँको आयोजनामा शुक्रबार आयोजित स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले केपी ओलीलाई सत्ताच्युत गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

    केपी ओली प्रधानमन्त्री रहेसम्म सङ्घीयता र व्यवस्था पनि खतरामा पर्ने भएकाले उनको विकल्प आवश्यक रहेको पौडेलको भनाई थियो । उहाँले कोरोना महामारी नियन्त्रणका लागि सरकारको योजना प्रभावकारी नभएको बताउनुभयो । नेता पौडेलले सरकारको योजना नभएकै कारण नागरिकले समयमै खोप पाउन नसकेको आरोप लगाउनुभयो । “बजेटको अभाव भएर होइन सरकारको योजना नभएर खोप आउन सकेके छैन,” उहाँले भन्नुभयो । नेता पौडेलले काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाए फरक ढङ्गबाट सरकार चलाउनुपर्ने धारणा राख्नुभयो ।

    कोरोना महामारीमा मास्क अभियान अन्तर्गत पौडेलले दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गर्नुभएको छ । चार नगरपालिका र छ गाउँपालिकाका तरुण समितिलाई पाँच÷पाँच हजारका दरले मास्क वितरण गरिएको छ ।

    कोरोना नियन्त्रणका लागि मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिलाई मास्क पु¥याउने योजना रहेको पौडेलले बताउनुभयो । साथै पौडेलले तरुण दलमार्फत् नै ऋषिङ, भिमाद र बन्दीपुरका लागि अक्सिजन कन्सनट्रेटर वितरण गर्नुभएको छ ।

    यसअघि पौडेलले पहिलो चरणमा तनहुँका अस्पताल र स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिसक्नुभएको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार थान, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २÷२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।