दमाैली : जिल्ला सदरमुकाम दमौलीबाट नजिकै छ, साँगे । बिजुली, सडक, खानेपानी लगायत आवश्यक पूर्वाधार पुगेको साँगे व्यास ५ र ६ मा पर्छ । आफ्नो दैनिक कामको लागि कच्ची सडक रहेको सिन्धुमार्गबाट यहाँका सर्वसाधारण आवतजावत गर्दछन् ।
विसं २०७२ सालमा उक्त सडकको स्तरोन्नतिका लागि ग्रामीण सडक सुदृढीकरण आयोजनाअन्तर्गत (एसएनआरटिपी) परियोजनाले रु ९ करोड ८५ लाख बजेट आयो । लामो समयदेखि धुलो, धुवाँ खेप्दै आएका साँगेवासीमा सडक पिच हुने खबरले खुशीयाली चुलियो । स्तरोन्नति गर्ने जिम्मेवारी वाइपी कन्स्ट्रक्सनले पायो ।
कन्स्ट्रक्सनलले डेढ वर्षमा सिन्धु मोटरमार्गको १२.३ किमी सडक स्तरोन्नति सक्ने गरी माघ ८ गते सम्झौता गर्यो । तर कम्पनीले समयमा नै काम सकेन । स्थानीय तह, प्रदेश र संघ सरकारको निर्वाचन कारण देखाउँदै विसं २०७४ वैशाखदेखि १० महिना म्याद थप गरेर काम गर्न शुरु गर्यो । पहिलो पटक पनि म्याद थप गर्दा काम सकिएन । निर्माण सामग्री अभाव कारण देखाउँदै कम्पनीले फेरि विसं २०७५ मंसिरसम्म म्याद थप गर्यो । तर समयमै भुक्तानी नभएको कारण देखाउँदै कम्पनीले तेस्रो पटक २०७६ भदौसम्म म्याद थप गर्यो । त्यो बेलासम्म सडक स्तरोन्नति कार्य आधा पनि सकिएको थिएन ।
पटक–पटक म्याद थप गर्ने कम्पनीले सोचिरहेको बेला अनुदानमा आएको रकम फ्रिज भयो । त्यो बेलासम्म अनुदानको रकमबाट कम्पनीले रु सात करोड २० लाख खर्च गरेको छ । तर, समयमा नै काम नभएपछि अनुदानमा आएको रकममध्ये रु दुई करोड फ्रिज भएको थियो ।
त्यसपछि गण्डकी प्रदेश सरकारले उक्त अलपत्र परेको योजनाका लागि रु तीन करोड विनियोजन गर्यो । तर, तीन पटकसम्म म्याद थपेर गत वर्ष चैतसम्म सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले अझैसम्म सकेको छैन । ‘खै अब हामीले त आश पनि मारिसक्यौ, अब वटासिलसहितको सडक बन्छ भनेर,’ बाह्रबिसेकी अन्जु प्रधानले भन्नुभयो, ‘धुलो, धुवाँ खाने त बानी परिसक्यो । वर्षामा हिलो हुन्छ । हिउँदेमा धुलाम्य हुन्छ ।’
व्यास ५ पतेनीदेखि व्यास ६, भत्तेरीसम्म वटासिलको काम भएको छ । तर वटासिल भत्किएका छन् । वटासिलभन्दा पहिला सडकको धुलो खेप्दै आएका स्थानीय भने अहिले खाल्डाखुल्डीको मारमा परेका छन् । अर्का स्थानीय सफल पण्डितले भन्नुभयो, ‘माकुराको जालोजस्तो काम पनि । कही काम नै भएको छैन, कतै भएका पनि भत्किएका छन् ।’
यता, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले वाइपी कन्स्ट्रक्सन सञ्चालक रत्न प्रधानलाई पटक–पटक स्पष्टीकरण लिएपनि काम पूरा हुन नसक्दा स्थानीय निराश बन्दै गएका छन् । कम्पनीको लापरबाहीले निर्माणमा ढिलाइ भएको जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालय प्रमुख ओमराज ढुंगानाले भन्नुभयो, ‘पटक पटक जरिवाना तिराएका छौं । अब अन्तिम मिति असारसम्म छ । उक्त समयसम्म काम नसके धरौटी जफत हुन्छ ।’