निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०७८, आईतवार

    तनहुँ : कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् ।

    म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।

    रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

    उद्यानमा रेलिङ, बत्ती जडान लगायतका काम बॉकी रहेको र कोरोना कहरका कारण ढिलाई भएको छ । उहॉका अनुसार ट्रि हाउसमा पनि भर्याङ राख्न बॉकी छ ।

    “जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो । पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो ।

    “उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ”, उहाँले भन्नुभयो, “रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।” रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उहाँले भन्नुभयो । उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजीकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।