भानु : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्व. रफिक मियाँको निधनले काङ्ग्रेसले असल सिपाही गुमाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भानु–१३ का वडा सभापति एवं मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन भएको चौथो दिनमा आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै युवा नेता पौडेलले मियाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेसको दार्शनिकले खोजेको सदस्य स्व. मियाँ भएको चर्चा गर्दै नेता पौडेलले भन्नुभयो, “सरल जीवनशैली, सबैको शुभेच्छा चाहने, सधैँ अरुलाई सहयोग गर्ने विकाससँग जोडिने उहाँको स्वभाव हामी सबैले सिको गर्नुपर्छ ।”
स्व. मियाँले देखाएको बाटो अबको पुस्ताले अवलम्बन गर्नुपर्नेमा नेता पौडेलको जोड थियो । स्व. मियाँले अल्पायुमै मृत्युवरण गर्नुपरेकामा दुःख व्यक्त गर्दै उहाँले मियाँ बाँचेको भए अझै समाजका लागि केही उदाहरणीय काम गर्न सक्ने खुबी भएको बताउनुभयो । “हामी एकदिन सबै मरेर जाने हो, तर बाचुन्जेल समाजका लागि केही काम गर्नुपर्छ, त्यो स्व. मियाँले गर्नुभएको थियो,” पौडेलले भन्नुभयो ।
श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले इमानदारिता र प्रतिष्ठा भएको साहसी व्यक्तिको रुपमा स्व. मियाँलाई चिनिने बताउनुभयो ।
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका मियाँको गत जेठ २७ गते बिहीबार बिहान ५ बजे हृदयघातबाट निधन भएको थियो ।