१०८ फिट व्यासमूर्ति निर्माणका लागि सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १०८ फिट व्यासमूर्ति निर्माणका लागि सम्झौता

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०७८, आईतवार

    तनहुँ : महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा १०८ फिटको व्यासमूर्ति निर्माणका लागि निर्माणका लागि सम्झौता भएको छ । व्यास नगरपालिकाले निर्माण कम्पनी गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जेभीसँग मूर्ति निर्माणको काम थालनीका लागि सम्झौता गरेको हो ।

    नगरप्रमुख वैकुण्ठ न्यौपाने र व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठको उपस्थितिमा नगरपालिकामा आइतबार प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र निर्माण व्यवसायीका तर्फबाट ऋषिराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    व्यास नगरपालिका–३ पञ्चायन मन्दिर क्षेत्रमा व्यास मूर्ति निर्माणका लागि नगरपालिकाले रु पाँच करोड ५० लाख ५५ हजार ६ सय ४० को लागतमा पहिलो चरणको काम शुरु गर्न लागेको हो ।

    कूल रु ७१ करोड दुई लाख दश हजार आठ सय ८९ लागतमा निर्माण हुने मूर्ति निर्माणका कार्य अन्तर्गत हाल पहिलो चरणका काम मात्र हुनेछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलका अनुसार पहिलो चरणको काम गर्ने म्याद एक वर्षको रहेको छ । यसअवधिमा मूर्ति राख्नका लागि आधार तयार गर्ने काम हुनेछ । नगरपालिकाले गत फागुन अन्तिम साता मूर्ति निर्माणका लागि टेण्डर आव्हान गरेको थियो ।

    मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट उपलब्ध गराएको थियो ।

    व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष श्रेष्ठले निर्माण कार्यका लागि सम्झौता भएपछि अब मूर्ति निर्माणको ठोस कामको शुरुवात भएको बताउनुभयो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत् पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको थियो । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्यप्रवेशद्वारको केही काम गरिएको छ ।

    विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ सालदेखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु दश लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

    निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु ७ करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

    गुरुयोजना अनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, विक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमाहरु र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।