


शुक्लागण्डकी नगरपालिका–८ मा कोरोना परीक्षण गर्न भेला भएका स्थानीय
दुलेगाैडा : कोरोना भाईरसको दोस्रो लहरको शुरुवातमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको विगबिगी थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु पोकोपुन्तुरो बोकेर गाउँ पसे । गाउँ पस्न र बाहिरन कुनै रोकतोक छैन ।
पूजापाठ, भोजभतेर पनि निर्वाध भईरहे । यसैको प्रतिफल शहरीयालाई आतङ्कित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । कतिपय गाउँमा त भुसको आगो फैलिएझै कोरोना फैलिएको छ । बरु शहरमा सावधानी अपनाउँदा विस्तारै सङ्क्रमणदर घट्दो देखिन्छ ।
गाउँलेकै लापरवाहीले कोरोना फैलिरहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गाउँमा सावधानी नै अपनाईएको छैन । खेतीपाती सँगै गर्छन् । चौतारोमा सँगै बसेर गफिन्छन् । गाउँमा मास्क अनिवार्य पनि छैन, मापदण्डको पालना हुँदैन । एक जना सङ्क्रमितले सयौँलाई फैलाउँछ ।’
शुक्लागण्डकीमा हाल सक्रिय सङ्क्रमितको संख्या २ सय ४१ पुगेको छ । पछिल्ला सातामा परीक्षण भएका स्वाबको पिसीआर रिपोर्टमा पोजेटिभ हुनेको संख्या गाउँ र शहर क्षेत्रका बराबरी छ । होम आईसोलेसनले पनि सङ्क्रमण फैलन बढवा दिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवको विश्लेषण छ ।
कोरोना नियन्त्रणको जिम्मेवारी स्वास्थ्यकर्मीको मात्रै हो भन्ने गलत बुझाई आम सर्वसाधरणमा रहेको उहाँले दुखेसो गर्नुभयो । ‘जति दायित्व स्वास्थ्यकर्मीको छ त्यति नै घरपरिवार, नागरिक समाज, टोलको र जनप्रतिनिधीको छ,’उहाँले भन्नुभयो । कोरोनालाई नियन्त्रण गर्नलाई सबै पक्ष मिलेर गाउँमा निगरानी बढाउनुपर्नेमा उहाँको जोड छ ।
भिमादका गाउँ–गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बिरामी थुप्रै छन् । नगरपालिकाको स्वास्थ्य शाखा गाउँमा पुगेर सर्वसाधारणको एन्टिजोन परिक्षण गरिरहेको छ । पछिल्लो समय भिमादको वडा नम्बर २ को जलौदीमा एकैदिन ७० जनाको एन्टिजेन परिक्षण गर्दा २८ जनालाई पोजेटिभ पुष्टि भयो ।
डर लाग्दो तरिकाले गाउँघरतिर संक्रमण फैलिएको भिमाद स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बरालले बताउनुभयो । निषेधाज्ञापछि जोखिमयुक्त ठाउँमा रहेकाहरु ह्वात्तै गाउँ पसेकाले गाउँघरमा संक्रमणको स्थिति भयावह भएको उहाँको भनाई छ । उहाँका अनुसार गाउँमा संक्रमण फैलनुको अर्को कारणमा विहेब्रतबन्ध र भोजभतेर पर्दछ । ‘एक÷दुई जनालाई संक्रमण भयो भने यो मेरो छोरा हो, भाई हो भन्ने । संगै बस्ने, खाने । यस्तै–यस्तै कारणले गाउँमा कोरोना फैलियो,’ उहाँले भन्नुभयो ।
गाउँमा फैलिएको कोरोना नियन्त्रणका लागि एन्टिजोन परीक्षणको दायरा बढाएकामा बिरामी परेका परीक्षण गर्न नमानेको उहाँले बताउनुभयो । ‘संक्रमण भएमा सिटामोल खाने, घरायसी औषधी खाएर दुई चार दिनमा निको भएका धेरै छन्,’ उहाँले अगाडी थप्नुभयो, ‘संक्रमण भएमा गाउँ समाजले नराम्रो दृष्टिले हेर्न भएकाले पनि परीक्षण गर्न चाहँदैनन् ।’
जटिल अवस्था पुगेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिले संक्रमण र मृत्युदरमा वृद्धि भईरहेको छ । तनहुँमा हाल ९ सय ८० जना सक्रिय संक्रमित छन् । दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लामा १७ हजार १ सय १२ जनाको पिसीआर र एन्टिजोन विधिबाट कोरोना परीक्षण गरिएकामा ४ हजार ९७ लाई पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये ९५ जनाको मृत्यु भएको छ भने ३ हजार २२ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
सबैभन्दा धेरै व्यास नगरपालिकामा सङ्क्रमित छन् । देवघाट गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्यतर्फ ओरालो झर्दै छ । मृत्यु हुनेको संख्या भने शुक्लागण्डकीमा उच्च देखिन्छ ।