मनसुनजन्य विपद् रोकथामको पूर्व तयारी शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मनसुनजन्य विपद् रोकथामको पूर्व तयारी शुरु

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०७८, सोमबार

    तनहुँ : मनसुनजन्य विपद् रोकथामका लागि तनहुँमा पूर्व तयारी शुरु भएको छ । निकट भविष्यमा नै मनसुन सक्रिय भई जिल्लाभित्र बाढी, पहिरो एवं डुबान हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहहरुले पूर्व तयारी शुरु गरेका हुन् ।

    मनसुन विपद् प्रतिकार्य योजना २०७८ अनुसार सबै स्थानीय तहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै कम क्षति हुने परिस्थितिको सिर्जना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष सागर आचार्यले जानकारी दिनुभयो । “गत वैशाखमा जिल्लाभित्रका सबै स्थानीय तहहरुबाट उपलब्ध गराइएको तथ्याङ्क एवं सुझाव अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालयबाट तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको मनसुन विपद् प्रतिकार्य योजना २०७८ लाई कार्यान्वयनमा ल्याउन सबै स्थानीय तहलाई परिपत्र भइसकेको छ,” प्रजिअ आचार्यले भन्नुभयो ।

    मनसुनजन्य विपद् व्यवस्थापनका पूर्व तयारी स्वरुप सबै स्थानीय तहहरुले उद्धारका लागि उपकरण, राहत सामग्री, सुरक्षित क्षेत्रको प्रबन्ध, जनशक्तिको तयारीको व्यवस्थापन गर्ने भएका छन् । त्यस्तै स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको प्रबन्ध, पृथ्वीराजमार्ग र सहायक मार्गमा पर्ने सबै स्थानीय तहहरुले राजमार्ग र स्थानीय मार्ग तथा अन्य स्थानमा रुख लडी बाटो अवरुद्ध भएमा तत्काल खुलाउन रुख तथा हाँगा विगा काट्ने प्रयोजनका लागि इन्धनबाट चल्ने पावर चेन्स खरिद गरी प्रहरीलाई उपलब्ध गराउने भएका छन् ।

    सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि सहितको बैठकले मनसुन सक्रिय अवधिभर बाढी, डुवान र पहिरोका कारण जोखिमयुक्त स्थानहरुमा विशेष सावधानी अपनाउने र बाढी आएको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने जस्ता कार्यलाई निषेध गर्ने निर्णय गरेका छन् ।

    विपद् पीडितलाई राहत वितरण

    विपद् व्यवस्थापन समितिले विभिन्न विपद्बाट पीडित भएकाहरुलाई राहत वितरण गरेको छ । समितिले विपद् व्यवस्थापन कोषबाट सात जनालाई राहत वितरण गरेको हो । आगलागी पीडित राजबहादुर थापा, चन्द्रकला सार्की र दुर्गाबहादुर न्यौपानेलाई जनही रु १५ हजारका दरले राहत वितरण गरिएको छ ।

    आगलागी पीडित विष्णुहरि खनाल, देवीप्रसाद भुषाललाई जनही रु सात हजार, कालुराम भुजेललाई रु २० हजार र हावाहुरी पीडित बेचुमाया सार्कीलाई रु चार हजार वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    २४७ घरको विवरण प्राधिकरणमा

    विपद् व्यवस्थापन समितिले गत वर्षको जेठ ३० पछिका मनसुनजन्य बाढीपहिरोबाट भत्किएका २ सय ४७ घर पुनर्निर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको जनाएको छ । उक्त घरपरिवारको सर्वेक्षण गरी लाभग्राही एकिन गर्न स्थानीय तहमा कार्यरत प्राविधिकलाई तालिम प्रदान गरी स्थानीय तहहरुबाट खटाइएको छ । तर पनि सर्वेक्षण गरी विवरण प्राप्त नभएको समितिले जनाएको छ ।

    समितिले २ सय ४७ घरको पुनर्निर्माणका लागि लाग्ने अनुमानित रकम निकासा गरी पठाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गरेको छ ।