तनहुँ : गण्डकी प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँ जिल्लालाई सम्बोधनको प्रयास गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पाैडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रदेखि बुद्धसिं मार्गसम्मको योजना समेट्ने प्रयास गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यद्यपि यो उपचार केन्द्र प्रदेश सरकार मातहत छैन । उपचार केन्द्र सङ्घ सरकार मातहत रहेको छ ।
त्रिवेणी, देवघाट, केलादीघाट, राम्दीघाट, रुद्रवेणी, शालिग्राम, बागलुङ कालिका, पञ्चकोट, बराह, गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड, विन्ध्यवासिनी पोखरा, करापुटार, व्यास दमौली, छिम्केश्वरी, गोरखकाली, मनकामना जोड्ने धार्मिक परिपथ विकास गरिने उल्लेख छ ।
यस्तै प्रदेशको प्राथमिकतामा रहेका भीमाद डेढगाउँ अरुणखोला सडक, शालिग्राम करिडोरलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
तनहुँमा वन पैदावरमा आधारित मझौला उद्योग स्थापना गर्नुका साथै गुठी जग्गा सम्बन्धी समस्या समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।