तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले केही दिन निरन्तर वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ । असार ३ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले प्रशासनले आज सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिन अनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन लगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी लगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ ।
कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरिक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।