तनहुँ : तनहुँमा सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र तनहुँको शुक्रबार बसेको बैठकले कोभिड-१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको हो ।
परीक्षा सञ्चालन गर्दा कम्तिमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समय भन्दा एक घण्टा ३० मिनेट अगाडी प्रवेश शुरु गराई लाइनमा हुन सक्ने भीड न्यूनीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ ।
कोभिड सङ्क्रमित परीक्षार्थीको सहजताका लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन अगाडी सिआइसिटी परीक्षा फारम भर्न लगाई सङ्क्रमित फारम समितिलाई उपलब्ध गराउनुपर्नेछ ।
कोभिड-१९ संक्रमित परीक्षार्थीको हकमा अरु सामान्य परीक्षार्थीको परीक्षा शुरु भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरुको परीक्षा
सकिएको ३० मिनेट पछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने निर्णय भएको बरालले बताए । “त्यस्ता परीक्षार्थीहरुलाई वेग्लै कोठा तथा वेग्लै शौचालयको व्यवस्थापन गर्ने र संक्रमित परीक्षार्थीहरुले प्रयोग गरेको सामाग्री स्वास्थ्य कार्यालयको समन्वयमा सावधानीका साथ संकलनको व्यवस्था मिलाउनेछ,” उनले भने ।