साउन २० गतेसम्म निषेधाज्ञा थप, सबै क्षेत्र खुकुलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साउन २० गतेसम्म निषेधाज्ञा थप, सबै क्षेत्र खुकुलो

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७८, शुक्रबार

    तनहुँ : सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।

    छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    निषेधाज्ञा थपिएपनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म खुल्दै आएका सबै सेवा र व्यवसाय बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म खोल्ने निर्णय भएको छ । साथै लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ ।

    स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिने निर्णय समेत भएको बरालले बताउनुभयो ।

    सबै परीक्षा सञ्चालन

    यस्तै कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तिमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समय भन्दा एक घण्टा ३० मिनेट अगाडी प्रवेश शुरु गराई लाइनमा हुन सक्ने भीड न्यूनीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ

    कोभिड सङ्क्रमित परीक्षार्थीको सहजताका लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन अगाडी सिआइसिटी परीक्षा फारम भर्न लगाई सङ्क्रमित फारम समितिलाई उपलब्ध गराउनुपर्नेछ ।

    कोभिड–१९ सङ्क्रमित परीक्षार्थीको हकमा अरु सामान्य परीक्षार्थीको परीक्षा शुरु भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेट पछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने निर्णय भएको बरालले बताउनुभयो । “त्यस्ता परीक्षार्थीहरुलाई वेग्लै कोठा तथा वेग्लै शौचालयको व्यवस्थापन गर्ने र सङ्क्रमित परीक्षार्थीहरुले प्रयोग गरेको सामाग्री स्वास्थ्य कार्यालयको समन्वयमा सावधानीका साथ संकलनको व्यवस्था मिलाउनेछ,” उहाँले भन्नुभयो ।