म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । गाउँसभाबाट पारित भएको बजेट शुक्रबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ६६ करोड ९२ लाख ६१ हजारको बजेट पारित गरेको छ । जसमध्ये आर्थिक विकासतर्फ रु तीन करोड १६ लाख, सामाजिक विकासतर्फ रु २७ करोड ७८ लाख ६६ हजार, पूर्वाधार विकासतर्फ रु २२ करोड ७३ लाख ५४ हजार, वातावरण र विपद् व्यवस्थापनतर्फ रु ५० लाख र सुशासन तथा संस्थागत विकासतर्फ रु आठ करोड २४ लाख ४१ हजार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले सात वटै वडा कार्यालयलाइ पुँजीगततर्फ ७५ र चालुतर्फ २५ प्रतिशत गरी रु चार करोड ५० लाखका दरले बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०७७÷७८ मा प्रति ७२ प्रतिशत बजेट खर्च गरेको अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा गत वर्षको समिक्षा गर्नुका साथै जनप्रतिनिधिको चार वर्षको गतिविधि सार्वजनिक गरिएको थियो । पदाधिकारीको अन्तिम वर्ष भएकाले चार वर्षको गतिविधि पुस्तक मार्फत् सार्वजनिक गरिने अधिकारीले बताउनुभयो ।
६४ जना सम्मानित
गाउँपालिकाले विभिन्न क्षेत्रका गरी ६४ जनालाई सम्मान गरेको छ । कोभिड–१९ न्युनीकरणका लागि अग्रपङ्क्तिमा खटिने ११ जना स्वास्थ्यकर्मी, उत्कृष्ट कार्य गर्ने कर्मचारी, वडा सचिव, प्राविधिक लगायतलाई पुरस्कृत गरिएको छ ।
त्यस्तै उपभोक्ता समिति, उत्कृष्ट खेलाडी, शिक्षक, टोल सुधार समिति, प्रहरी, विद्यालय, प्रधानाध्यापक लगायतलाई पनि सम्मान गरिएको छ । गाउँपालिकाले कोभिड प्रकोप कोषमा रु २० लाख सहयोग गर्ने सूर्य नेपाल प्रालिलाई समेत सोही कार्यक्रममा सम्मान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याग्देले विकास निर्माणमा फड्को मार्दै गएको बताउनुभयो । गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जनताको माग र आवश्यकताका आधारमा गाउँपालिकाले बजेट विनियोजन गरिएको बताउनुभयो । उपाध्यक्ष बालकृष्ण घिमिरेले समृद्ध म्याग्दे बनाउने अभियानमा सबै जनप्रतिनिधि एकमत रहेको बताउनुभयो ।