दमौली : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले कोरोना अवधिमा भएका कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । शाखाले कोभिडको अवधिमा सामाजिक उत्तरदायित्व गरेका कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको हो ।
विसं २०२७ सालमा स्थापित रेडक्रस तनहुँले सेवामूलक र विकास सम्वन्धि कार्य गर्दे आएको छ । कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले संगठन विकास, विपद व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह, यसको सिद्धान्तको बारेमा विभिन्न कार्यक्रम गरेको सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।
रेडक्रसले कोरोना रोकथामका उपायहरु फैलाउने, देवघाट, कोटदरवार र दुम्सीकोटको एम्वुलेन्सका लागि रेगुलेटर सहितका सिलिण्डर वितरण, २८ वटा उपशाखाहरुमा मास्क, स्यानीटाइजर लगायतकी स्वास्थ्य सामग्री वितरण, स्वंयसेवक परिचालन, खोप लगाउनका लागि प्रेरित गर्ने, बन्दिपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सनट्रेटर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको शाखाले जनाएको छ ।
महासङ्घलाई स्वास्थ्य सामग्री
सोही अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई २००० थान नर्मल मास्क र ७२ थान स्यानीटाइजर हस्तान्तरण गरिएको छ । उक्त सामग्री शाखाका अध्यक्ष उज्जल पौडेललाई हस्तान्तरण गरियो ।
कार्यक्रममा शाखाका मन्त्री चिनु पोख्रेलले आगामी दिनमा पनि कोभिड रोकथामका लागि कार्यक्रम सञ्चालन गरिने बताइन्।