‘व्यासभूमिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने अभियानमा लागौ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘व्यासभूमिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने अभियानमा लागौ’

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७८, शनिबार

    दमाैली : चार वेद अठार पुराणका रचयिता व्यासको जन्मभूमि दमौलीलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिइएको छ । व्यास अवतरण दिवस एवं गुरुपूर्णिमाको अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरुले हिन्दुहरुको आस्थाको थलो व्यासभूमिको थप प्रचारप्रसार आवश्यक रहेको बताए ।

    गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले व्यास ऋषिकै कारण व्यासभूमि परिचित भएपनि यसको अझै प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । व्यासभूमिलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने र त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्नेमा गुरुङको जोड थियो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रको विकास प्रक्रिया अभियानमा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । धर्मलाई पर्यटनसँग जोड्दै व्यासभूमिको विकास गर्ने अभियान नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

    व्यासभूमिको विकासका लागि नगरपालिकाकै सक्रियतामा १०८ फिटको व्यासमूर्ति निर्माणको अभियान शुरु भएको न्यौपानेले जानकारी दिनुभयो । व्यास–पराशर क्षेत्रको विकास, मानुङकोटको पर्यटन प्रबद्र्धन, एकीकृत मादी विकास योजना लगायतले व्यासभूमिको विकासमा सहयोग पु¥याउने उहाँको भनाई थियो ।

    व्यासका अध्येता काशीनाथ न्यौपाने र शान्तिस्वरुपानन्द दामोदर बाबाले विश्वकै हिन्दुको मूल थलो व्यासभूमिले १०८ फिट मूर्ति निर्माणपछि थप चर्चा पाउने बताउनुभयो । व्यास क्षेत्र विकास कोषका उपाध्यक्ष प्रेमप्रकाश भट्टराईले १०८ फिटको व्यासमूर्ति निर्माणको टेण्डर भइसकेको र वर्षा लगत्तै उक्त कामले तीव्रता पाउने बताउनुभयो ।

    १०८ फिट व्यासमूर्ति निर्माणका लागि रु ७१ करोड दुई लाख दश हजार ८८९ रकम आवश्यक पर्दछ । पहिलो चरणमा रु पाँच करोड ५० लाख ५५ हजार ६ सय ४० को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम शुरु भएको छ ।

    पहिलो चरणमा मूर्ति अड्याउन स्तम्भ निर्माणका लागि नगरपालिकाले गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जेभीसँग सम्झौता गरेको छ । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गरेको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट उपलब्ध गराएको छ ।

    विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ सालदेखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु दश लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।