डोबाटेलाई मन्त्री नबनाउनु दलित समुदायप्रतिको अपमान हो: शेखर कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डोबाटेलाई मन्त्री नबनाउनु दलित समुदायप्रतिको अपमान हो: शेखर कोइराला

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७८, आईतवार

    काठमाडाै : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशमा भएको मन्त्रिपरिषद बिस्तारलाई सच्याउन माग गरेका छन्। तनहुँका सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने सूचीबाट अन्तिम समयमा नाम हटाएर अर्कै सांसद मन्त्री बनेका थिए।

    डोबाटे मन्त्री बन्ने भने पनि पछि कास्कीका सांसद विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री भएका थिए। डोबाटे वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले थापालाई मन्त्री बनाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आग्रह गरेपछि अन्तिम समयमा डोबाटेको नाम मन्त्रीबाट हटाइएको स्रोतको दाबी छ।

    मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउन चाहेका थिए। डोबाटेको नाम हटाएर गण्डकीमा मन्त्रिपरिषद बिस्तार गरेकोमा कांग्रेसभित्रबाटै आलोचना भएको छ।

    दलित समुदायप्रति अपमान हुने गरी डोबाटेको नाम हटाइएको केन्द्रीय सदस्य शेखर कोइरालाको भनाइ छ। ‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न। तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान हो,’ कोइरालाले भने।

    उनले गण्डकी प्रदेश मन्त्रिपरिषद बिस्तारले दुखित बनाएको पनि बताएका छन्। ‘सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रूपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको छ। त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको छ,’ कोइरालाले भने।

    उनले बिपी स्मृति दिवस मनाउँदै र बिपीको तस्बिरमा चढाएको फूल नओइलीँदै यस्तो निर्णय भएकोले त्यसको जवाफ समाजलाई दिनैपर्ने पनि बताएका छन्। ‘यसलाई तुरून्त सच्याउनु जरूरी छ। भोलिका दिन यस्ता निर्णय पार्टीको निम्ती निकै महँगो पर्न सक्छ। सबैले हेक्का राखौं,’ कोइरालाले भनेका छन्। (सेताेपाटीबाट)