बागलुङ : नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गत आर्थिक वर्षमा विद्युत बक्यौता बापतको ३५ लाख सङ्कलन गरेको छ । विद्युत महशुल नतिरेका ग्राहकको लाइन काट्दा उक्त बक्यौता बापतको रकम उठेको हो ।
आर्थिक वर्ष ०७७/७८ मा ४ सय ६४ ग्राहकको लाइन काटिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए ।
सोही वर्ष वितरण केन्द्रमा एक हजार ९ सय पॉच ग्राहक बढेका छन् । केन्द्रमा हालसम्म ३० हजार ८३ ग्राहक पुगेका छन् भने सामुदायिकतर्फ पॉच हजार एक ग्राहक छन् ।
केन्द्रले उक्त अवधिमा ३३/११/.४/.२२० केभीको ६० किमि सर्किट विस्तार गरेको छ । विद्युतीकरणमा विभिन्न क्षमताका ३० ट्रान्सफर्मर जडान गरिएको गोशलीले बताए। बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिकामा ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत पहिलोपटक केन्द्रीय प्रशारण लाईनबाट बत्ती बालिएको छ ।
पश्चिम क्षेत्रका ग्राहकका लागि ढोरपाटन बुर्तिबाङमा कार्यालय स्थापना गरी नोलाईट सेवा, मिटर वितरण,मिटर रिडिङ, महशुल सङ्कलन कार्य शुरु गरिएको छ ।
सोही अवधिमा गण्डकी प्रदेश सरकारबाट प्राप्त ग्रामीण विद्युतीकरण कार्यक्रमतर्फ सय प्रतिशत प्रगति भएको गोशलीले जानकारी दिए । केन्द्रले विद्युत लाईन सुदृढीकरण, कन्डक्टर क्षमता वृद्धि, काठेपोल विस्थापन र अन्य विद्युतीकरणका कार्यक्रम सम्पन्न गरेको जनाएको छ।