दुलेगाैडा : अघोषित रुपमा हुने लोडसेडिङका कारण तनहुँका उपभोक्ता आजित बन्दै गएका छन् । बिना सूचना प्राधिकरणले पटक–पटक विद्युत कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ ।
‘लाइन कति बेला जान्छ । कति बेला आउँछ पत्तो हुँदैन,’ शुक्लागण्डकी नगरपालिका–३ कवासेकी समुन्द्र कार्की भन्छिन्, ‘यतिबेला बाबुनानीको अनलाइन कक्षा चलेको छ । बेला बेला लाईन जाँदा पढ्न समस्या भएको छ ।’ कहिलेकाहीँ दिनमा १० औँ पटकसम्म पनि लाईने जाने गरेको कार्कीले जानकारी दिइन् । उनका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकै बेला पनि लाईन जाने समस्या छ ।
विद्युत जाने समस्याले अनलाईन कक्षा चलाउनै समस्या हुने गरेको ज्ञान बगैँचा बोर्डिङ स्कुल बेलचौताराका प्रधानध्यापक सुरेश पौडेलले बताए । ‘क्लास शुरु भयो लाईन जान्छ, फेरि आउँछ । हैरान बनाउँछ । यो समस्याले प्लानिङ अनुसार पढाउन सकिँदैन । अस्तव्यस्त हुन्छ तालिका,’ प्रधानध्यापक पौडेलले भने ।
लोडसेडिङ धेरै हुन थालेपछि विद्यालयले इन्भटर खरिद गरेको छ । विद्यालयले इन्भटर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएको बेला एक दुई जना मात्रै सहभागी हुने गरेको पौडेलले जानकारी दिए । बिना जानकारी विद्युत कटौती गर्नुको सट्टा घोषित रुपमै लोडसेडिङ गर्दा सहज हुने उनको भनाई छ । ‘लोडसेडिङको तालिका भए त्यही अनुसार अनलाईन कक्षाको तालिका बनाएर पढाइन्थो,’ उनले भने ।
दैनिक विद्युत अनियमित हुँदा उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ बताउँछन् । केही उद्योग धरासायी बन्ने अवस्था सिर्जना भएको उनले जनाए । पटक–पटक समस्या समाधानका लागि प्राधिकरणको ध्यानार्कषण गराएपनि समस्या नहटेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘अब छिट्टै समस्या समाधान हँुदैछ भन्ने जवाफ आउँछ । समस्या उस्तै रहन्छ,’ श्रेष्ठले भने ।
विद्युत अनियमितता हुन थालेपछि कतिपयले बिग्रेर थन्काएका इन्भटर ब्याट्री मर्मत गरेर पुन प्रयोगमा ल्याउन थालेका छन् । तनहुँमा बेलचौतारा सवस्टेसनबाट विद्युत वितरण हुने शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका लगायतका विभिन्न क्षेत्रका उपभोक्ताले अघोषित लोडसेडिङको सास्ती खेप्नु परेको हो ।
फिडरमा समस्या देखिएकाले लाईन काटिने समस्या भइरहेको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताए । ‘माग नधानेर विद्युत काटिएको हैन् । फिडरमा प्राविधिक समस्या देखिएर हो । समस्या समाधानको प्रयासमा छौँ,’ उनले भने ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।