होटल व्यवसायीलाई खोप उपलब्ध गराउ : क्षेत्रीय होटल व्यवसायी सङ्घ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    होटल व्यवसायीलाई खोप उपलब्ध गराउ : क्षेत्रीय होटल व्यवसायी सङ्घ

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    दमाैली : क्षेत्रीय होटल सङ्घले तनहुँका होटल व्यवसायीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष राम जोशी तथा महासचिव चन्द्रकुमार कायस्थले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई खोपको व्यवस्था मिलाउन माग गरेको हो ।

    पर्यटन, आवास, होटल, मोटल, रेष्टुरा र रिसोर्ट सम्बन्धि सेवालाई सरकारले अत्यावश्यक सेवामा सूचीकृत गरेकाले व्यवसायीलाई तत्कालै खोप माग गरिएको सङ्घका अध्यक्ष जोशीले बताए । आन्तरिक तथा बाह्य पर्यटक भित्रिने पहिलो गन्तव्य होटल भएको हुँदा संवेदनशीलतालाई हेरी प्राथमिकता दिनुपर्ने जोशीले आग्रह गरे ।

    पर्यटन व्यवसाय देशको अर्थतन्त्रको प्रमुख आधार भएको र पर्यटकहरुलाई होटलमा गुणस्तरीय सेवा सुविधा प्रदान गर्न, पर्यटकहरूसँग प्रत्यक्ष सम्पर्क र सम्बन्धका कारण कोरोना जोखिम रहेको सङ्घका महासचिव चन्द्रकुमार कायस्थले बताए ।

    तनहुँ जिल्लाभित्र साना तथा ठूला गरी करिब एक हजार ६ सय ५० होटल छन् । ती होटलका सञ्चालक तथा कर्मचारीलाई खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले बताए ।

    प्रमुख जिल्ला अधिकारी आचार्यले व्यवसायीलाई खोप उपलब्ध गराउन पहल गर्ने बताए ।