ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ २० दिनपछि आजबाट पूर्ण रुपमा सुचारु भएको हो ।
पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका–८ अैरीभिर पूर्ण रुपमा बन्द थियो । पहिरा हटाएर उक्त खण्ड सुचारु गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।
“गाउँपालिकाकै पहलमा आजबाट पहिरा हटाई ठूला सवारी साधन समेत सञ्चालन भइसकेको छ, ठूलो पहिरा भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो,” दरैले भन्नुभयो । उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो ।