दमौली : नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले पार्टीलाई नयाँ ढङ्गबाट हाँक्न सक्ने नेतृत्व आवश्यक रहेकामा जोड दिएका छन् । नेपाली काङ्ग्रेस व्यास नगरपालिका–५ मा आज आयोजित भेलाको उद्घाटन गर्दै वाग्लेले आसन्न महाधिवेशनबाट पार्टीलाई एकढिक्का बनाउन सक्ने नेतृत्व निर्वाचित हुनुपर्नेमा जोड दिए ।
पार्टीभित्र थुप्रै व्यक्तिलाई अवसर रहेको हुँदा मिलेर जानुपर्ने बताउँदै वाग्लेले भने, “पार्टीलाई एकढिक्का बनाउँदै बलियो बनाउन सक्ने नेतृत्व अबको महाधिवेशनले निर्वाचत गर्नुपर्छ ।”
भेलामा व्यास नगरसमितिका सचिव मोहनकुमार श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष वीरबहादुर थापा, तरुण दलका कार्यवाहक अध्यक्ष हिरा थापा, नेपाली काङ्ग्रेस व्यास नगर सभापतिका आकाक्षीहरु डम्बरबहादुर अधिकारी, सूर्यचन्द्र हड्खले, डा.शेषरमण न्यौपाने, इन्जिनियर हरिदत्त पौडेल लगायतले काङ्ग्रेसमा युवा नेतृत्वको आवश्यकता रहेको बताए ।
यसैबीच नेपाली काङ्ग्रेस व्यास नगर समितिका सह–सचिव एवं सभापतिका आकाङ्क्षी डम्बर अधिकारीले काङ्ग्रेसभित्र युवा पुस्ताको खाँचो भएको बताएका छन् । पार्टीभित्र युवा पुस्ताको खाँचो भएको हुँदा आगामी महाधिवेशनमा वडा देखि केन्द्र तहसम्म युवा पुस्तालाई नेतृत्वको अवसर प्रदान गर्नुपर्ने अधिकारीको भनाई थियो ।
आफू नगर सभापति बनेको खण्डमा पार्टीमा योगदान दिएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गर्नेदेखि सम्मान गर्नेसम्मका कार्यक्रम अगाडी बढाउने अधिकारीको भनाई थियो । त्यस्तै नगरका १४ वटै वडा समितिहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने अधिकारीले बताए ।