भिमादको ५८ करोड ५६ लाख बजेट सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादको ५८ करोड ५६ लाख बजेट सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७८, शुक्रबार

    दुलेगौडा : भिमाद नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । शुक्रबार कार्यक्रम गर्दै नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको हो ।

    नवौँ नगरसभाले चालु वर्षका लागि ५८ करोड ५६ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको उपप्रमुख शारदा खनालले जानकारी दिइन् । उनका अनुसार चालुतर्फ ३७ करोड ४ लाख १० हजार ८ सय ७० रुपैयाँ र पुँजीगततर्फ २१ करोड ५१ लाख ९७ हजार १ सय ३० रुपैयाँ विनियोजन गरिएको छ । चालुमा ६३.३ प्रतिशत र पुँजीगतमा ३६.७ प्रतिशत विनियोजन गरिएको छ ।

    सामाजिक विकास शिर्षकमा नगरले आधा बढी बजेट छुट्यार्ईएको छ । ३० करोड १ लाख २० हजार रुपैयाँ सामाजिक विकासका लागि विनियोजन भएको छ । त्यसपछिको ठूलो रकम पूर्वाधार विकास शिर्षकमा १६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको सार्वजनिकिकरण समारोहमा बजेट प्रस्तुत गर्दै उपप्रमुख खनालले जानकारी गराइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड २० लाख रुपैयाँ र आर्थिक बिकासतर्फ ३ करोड ४५ लाख ७७ हजार १ सय ३० रुपैयाँ विनियोजन भएको छ ।

    आम्दानीतर्फ संघीय सरकारबाट समानिकरण अनुदानमा ११ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने खनालले बताइन् । शशर्त चालु अनुदान २४ करोड २४ लाख रुपैयाँ, शशर्त पुँजीगत अनुदान २ करोड २९ लाख रुपैयाँ, विशेष अनुदान ४२ लाख रुपैयाँ र संघीय सरकारबाट राजस्व बाँडफाँडमा ८ करोड ४१ लाख ८७ हजार रुपैयाँ प्राप्त हुने जनाईएको छ । यसरी संघीय सरकारबाट मात्रै ४७ करोड ३२ लाख ८७ हजार रपैयाँ आम्दानीको अनुमान छ ।

    गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख ४२ हजार रुपैयाँ, समपुरक अनुदान १ करोड रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ५० लाख ७९ हजार रुपैयाँ प्राप्त हुनेछ । घर जग्गा रजिष्ट्रेशनबाट ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । यस्तै, भिमादले २ करोड ५० लाख रुपैयाँ मात्र आन्तरिक स्रोतबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा खर्च नभएको ४ करोड १४ लाख रुपैयाँ पनि यहीँ आर्थिक वर्षमा उपयोग गरिनेछ ।

    नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्रा किरण गुरुङले अझै पनि संघीयता प्रारम्भिक अवस्थामा रहेको बताए । स्थानीय तहमा कर्मचारी फेरबदल भइरहँदा विकासले स्थायीत्व प्राप्त गर्न नसकेको उनको भनाई छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले भने, ‘स्थिर प्रशासनिक संयन्त्र नभएसम्म बजेट खर्च हुन नसक्ने समस्या रहन्छ ।’ उनले विकास निरन्तर भईरहने प्रकृया रहेको जनाए ।

    संविधान सभा सदस्य टुकराज सिग्देलले संघीयता ७० वर्षको संघर्षले पाएको प्रतिफल भएको उल्लेख गरे । उनले भने, ‘हजुरबुवा पुस्ताले लडेको लडाईको प्रतिफल नाती पुस्ताले पाएको छ । यसैलाई जोगाउन जनताले अनुभूति गर्नेगरी विकास गर्न आवश्यक छ ।’

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्राकृतिक स्रोत दोहनको बिषयमा भिमादमा प्रश्न उठ्ने गरेकाले ध्यान दिन सुझाव दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवहाक सभापति जितप्रकाश आले, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष ईमानबहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रतिनिधी कृष्णलाल विश्वकर्मा, नगरपालिकाका सल्लहाकार काजीमान श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर थापा, शिक्षा समिति सदस्य गोपाल पराजुली, भिमाद खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ऋषिराम राना, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चर्तुभुज सुवेदीले निती तथा कार्यक्रम र बजेटमा सुझाव दिएका थिए ।