दमाैली : तनहुँको दमौली निवासी खेमराज अधिकारी १६ वर्षको हुँदा अचानक नाकबाट धेरै रगत बग्यो । चिकित्सकसँग परीक्षण गराउँदा ‘तपाईको शरीरमा एकदमै धेरै रगत छ’ भनेर भनेको अधिकारी सम्झिन्छन् । “अब के गर्ने त डाक्टर साब,” उनले प्रश्न गरे । त्यसपछि डाक्टरले तपाई बेला बेलामा रक्तदान गर्नुस् भनेर भनेको उनलाई अझै याद छ ।
त्यसको १५–२० दिनपछि उनले ठिमीस्थित महालक्ष्मी विद्यालयमा पहिलो पटक रक्तदान गरे । “शुरुमा रिङ्गटा लागेजस्तो भयो, पहिलो पटक भएर त्यस्तो भएको थाहा पाएँ,” उनले भने, “त्यसैदिन मैले १०८ पटक रक्तदान गर्छु भनेर भगवानसँग सङ्कल्प गरे ।” रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने भएकाले रक्तदान गर्ने प्रण गरेको अधिकारी सुनाउँछन् ।
१६ वर्षको उमेर हुँदा रक्तदान शुरु गरेका अधिकारीले हालसम्म ९७ औं पटक रक्तदान गरिसकेका छन् । शनिबार म्याग्दे गाउँपालिका–३ धयरेमा लायन्स क्लव अफ म्याग्देले आयोजना गरेको रक्तदानमा सहभागी भएपछि उनकाे रक्तदान ९७ औं पटक पुगेको हो ।
जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहीँ पुगेर रक्तदान गर्ने गरेको अधिकारीले बताए । “थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु, आफू बाँचेर अरुलाई पनि बचाउने यो पुण्य काम हो,” उनले भने, “तनहुँका अतिरिक्त नेपालका विभिन्न जिल्लामा मैले रक्तदान गरेको छु ।” उनले भारत र बैङ्ककमा समेत रक्तदान गरेको जानकारी दिए । उनले नेपालका करिब २२÷२३ जिल्लामा रक्तदान गरेका छन् । “कम्तिमा तीन महिनामा एक पटक रक्तदान गरेर शरीर स्वस्थ राख्न सकिन्छ,” उनले भने, “यसै खेर जाने रगतले अरुको जीवन बच्छ ।”
रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उनले बताए । “१०८ पटक पु¥याउने सङ्कल्प गरेपनि सकेको र दिन मिल्ने अवस्थासम्म रक्तदान गर्न छाड्दिन,” उनले भने ।