सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७८, आईतवार

    काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।

    गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए । रातो पुलको माथिबाट पानी बगेको उनले बताए ।

    हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

    यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

    बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

    फाइल फोटो