दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व मनाउँदा कोभिडको जोखिमबाट बच्न सर्वसाधारणलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सूचना प्रकाशन गरि जिल्लाको देवघाट, च्यवनधाम र दमौलीघाट लगायतका क्षेत्रमा साउनको सोमबार पूजा लगायतका कार्यमा सर्वसाधारणको भिडभाड हुने गरेको भन्दै जोखिमबाट बच्दै चाडपर्व मनाउन र आफ्ना दैनिक कार्य गर्नअनुरोध गरेका छन् ।
प्रशासनले जिल्लाभर साउन २० गतेसम्म निषेधाज्ञा लगाएको अवस्थामा नित्य पूजाबाहेक धार्मिक कार्य, पूजापाठ र स्नानमा समेत रोक लगाईएको छ । कोरोना सङ्क्रमणलाई थप फैलन नदिई सावधानी अपनाउन र सचेत रहनका लागि सर्वसाधरणलाई अनुरोध गरिएको छ ।
प्रशासन कार्यालयले साउनको सोमबारको पूजा लगायतका कार्यलाई सकभर जो जहाँ रहेका छौं, त्यही रही मनाउन र अनावश्यक भिडभाड नगरी आफ्नै परिवारका सदस्यका माझ मनाउन अनुरोध गरेको छ । त्यस्तै जिल्ला भित्र कुनै मेला, जात्रा र महोत्सव नगर्न पनि प्रशासनले सचेत गराएको छ ।
सवारी साधनहरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढि यात्रु नराख्न र सबैकिसिमका स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ । त्यस्तै बजारमा भिडभाड नगर्ने, सामाजिक भौतिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, साबुन पानीले पटक पटक हात धुने र सेनीटाईजरको प्रयोग गर्ने तथा उद्योग व्यापार लगायतका व्यवसाय गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको अनिवार्य पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।