तनहुँका उद्योगमा लगानी बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका उद्योगमा लगानी बढ्यो

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७८, मंगलवार

    दमाैली : तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष ०७७÷७८ मा जिल्लामा दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । उक्त अवधिमा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका छन् ।

    गत आर्थिक वर्ष ०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो । आर्थिक वर्ष ०७६÷७७ भन्दा आर्थिक वर्ष ०७७÷७८ मा उद्योग दर्ता सङ्ख्या घटेपनि लगानी भने वृद्धि भएको कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

    एक वर्षको अवधिमा जिल्लामा कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी दर्ता भएको छ । कृषि तथा वनजन्यतर्फ एक हजार दुई सय १९ उद्योग दर्ता भएका छन् । गत वर्ष कृषि तथा वनजन्यतर्फ ६ सय मात्रै उद्योग दर्ता भएका थिए ।

    कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषि सम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताउनुभयो । “कोरोना कहरका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम शुरु गरेका छन्,” उहाँले भन्नुभयो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेती तर्फ आकर्षण बढ्दो छ । यसैगरी उत्पादनमूलकतर्फ एक सय २९, निर्माणतर्फ १९, पर्यटनतर्फ तीन सय २३ र सेवामूलकतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २६ करोड १० लाख २६ हजार तीन सय ७४ रहेको छ ।

    पाँच हजारलाई रोजगारी, ६६ लाख राजश्व सङ्कलन

    दुई हजार एक उद्यमी बन्दा ती उद्योगले पाँच हजार ८ सय १५ लाई रोजगारी दिएको छ । रोजगारी पाउनेमा दुई हजार ८ सय ३५ महिला र दुई हजार ९ सय ८० पुरुष छन् ।

    यसैगरी कार्यालयले रु ६६ लाख ३१ हजार सात सय ५० राजश्व सङ्कलन गरेको छ । उद्योग दर्तामार्फत् रु ३७ लाख ७७ हजार सात सय, पुँजीवृद्धिमार्फत् रु सात लाख ८० हजार पाँच सय र अन्यमार्फत् रु २० लाख ७३ हजार पाँच सय ५० राजश्व सङ्कलन भएको छ । रु १ लाखसम्म पुँजी भएको उद्योगले रु १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु ३ हजार १ सय, रु ५ लाखसम्म पुँजी भएको उद्योगले रु ६ हजार १ सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १ सय, रु १ करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १ सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १ सय र रु ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार १ सय १० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।

    कार्यालयमा सोही अवधिमा सात सय २१ उद्योग नवीकरण, एक सय ३८ उद्योग नामसारी, ११ उद्योग ठाउँसारी र एक सय २४ उद्योगले उद्देश्य थप गरेका छन् । ८५ उद्योगले लगत कट्टा, एक सय ४६ उद्योगले सुविधा सिफारिस, दुई सय ८८ उद्योगले प्रतिलिपि र एक सय ४४ ले पुँजी वृद्धि गरेका छन् ।