दुलेगौडा : तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा ढुंगालाई सिंगारेर बनाईएको पार्कमा पर्यटकको आकर्षण बढेको छ । अग्ला चुच्चे ढुंगालाई सिंगारेर बनाएको पार्कको तस्बिर सहितको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउन थालेपछि घुम्न आउने पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको हो ।
अहिले दैनिक एक सय बढी पर्यटक घुम्न आउने गरेको वडाध्यक्ष ईमानबहादुर थापाले जानकारी दिए । वडाध्यक्ष थापाका अनुसार शनिबार भिड लाग्ने गरेको छ । शनिबार मात्रै तीन सय बढी पर्यटक आउने गरेको उनले बताए । ‘अपेक्षा भन्दा बढी पर्यटक आएका छन्’, उनले भने ।
अग्लो ढुंगालाई मगर भाषामा घाङ्च ल्हुम भनिन्छ । भिमाद नगरपालिका–९ मोहोरियाको जंगलमा अग्ला ढुंगा परापूर्वकालदेखि नै यथेष्ट थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ग्ला ढुंगा ढुंगामै सीमित थिए । तर, अहिले तिनै ढुंगालाई सिंगारेर बनाईएको पार्कले आन्तरिक पर्यटकलाई मोहनी लगाएको छ ।
गण्डकी प्रदेश सरकार मातहातको डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षको बजेटबाट पार्क बनाएको हो । २० लाख रुपैयाँको लगानीमा पार्क बनाईएको हो । स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका छन् ।
पार्कमा चराको गुँड बनाईएको छ । ढुंगाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपास ढुंगाले चिनेर चिटिक्क पारिएको छ । पैदल मार्ग बनाईएको छ । चराचुरुङ्गी आकर्षित गर्न चेरी, अम्बा लगायतको विरुवा रोपिएको छ ।