पोखरा : मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो ।
स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो ।
मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको भण्डारीले बताए । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको छ ।
भण्डारीका अनुसार जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७२१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन् ।
भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् । मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।
यस्तै १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।
कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए । मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए ।
स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो ।अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको आचार्यले बताए ।
जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।
आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।