हिम्मत छ भने ओली सरकारले बनाएको धरहरा र रानीपोखरी भत्काउ : भगवती न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हिम्मत छ भने ओली सरकारले बनाएको धरहरा र रानीपोखरी भत्काउ : भगवती न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७८, बुधबार

    काठमाडौ : राष्ट्रिय सभा सदस्य भगवति न्यौपानेले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएकी छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी एमालेकी सांसद् भगवतिले लाल पूर्जा कुरेर बसेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई परमादेशको सरकारले आँसु दिएको बताइन् ।

    उनले भनिन् ‘नेकपा एमालेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बास बस्न एक टुक्रा जमिन र पेट पाल्न जमिन दिने सपना देख्यो, सोही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्यो, केपी ओली नेतृत्वको सरकारले आयोग गठन गरेर भूमिहीनका सपना पूरा गर्ने चरणमा थियो तर परमादेशबाट बनेको सरकारले लालपूर्जा र मुस्कान दिनुको सट्टा आँसु उपहार दिएको छ म यसप्रति खेद प्रकट गर्छु ।’

    भूमिहीन सुकुम्बासीलाई धैर्य गर्न आग्रह गर्दै भगवतीले भनिन्, ‘हामी मनमोहन अधिकारी र केपी ओलीका कार्यकर्ता हौं, त्यसैले हामी भौतिक रुपमा ढल्न तयार छौं, हामी चितामाथि जल्न तयार छौं तर भूमिहीनलाई जग्गा दिलाउनका लागि अनवरत रुपमा लडिरहनेछौं, तपाईंहरुको साथमा अनवरत रुपमा लागिरहनेछौं, यो विश्वास दिलाउन चाहान्छु ।’

    उनले भनिन्, ‘हिम्मत छ ? हिजो ओली सरकारले गरेका सबै काम भत्काउ सरकार, म चुनौती दिन चाहान्छु, ओली सरकारले बनाएको धरहरा भत्काउ सरकार, रानीपोखरी भत्काउ सरकार ,ओली सरकारले हिजो देखेका सबै सपना खारेज गर सरकार,अन्तराष्ट्रिय रुपमा ओली सरकारले गरेका ए‍ेतिहासिक सम्झौता खारेज गर हिम्मत छ ?’