रामचन्द्र पौडेलले राखे कांग्रेसमा विशेष महाधिवेशनको प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्र पौडेलले राखे कांग्रेसमा विशेष महाधिवेशनको प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, बिहीबार

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा विशेष महाधिवेशनको प्रस्ताव राखेका छन्।

    क्रियाशील सदस्यताको विवाद साम्य नभएपछि वरिष्ठ नेता पौडेलले उक्त प्रस्ताव राखेका हुन्। ‘क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेन। भदौ २३ अघि महाधिवेशन हुन नसके पार्टीको वैधानिकतामा प्रश्न उठ्छ’, पौडेलले  भने, ‘क्रियाशील सदस्यता विवादको समाधान पनि निकाल्दै जाने र त्यस अवधिका लागि तदर्थ समिति गठन गर्ने भनेको हुँ।’

    विशेष महाधिवेशन गरेर तदर्थ समिति गठन गर्ने र त्यसको अवधि २/४ महिनाको हुने उनको भनाइ छ। क्रियाशील सदस्यता विवाद समाधान नभइ महाधिवेशन हुन नसकेको विकल्पमा उक्त विषय उठाएको उनले बताए। ‘क्रियाशील सदस्यताको विषयमा छलफल हुँदै गर्दा  अल्पकालीन समयका लागि तदर्थ समिति भनेको हुँ। २ वर्षको लागि विशेष महाधिवेशनको पक्षमा म छैन’ पौडेलले भने।

    क्रियाशील सदस्यताको विवाद टुंग्याउन बुधबार बसेको शीर्ष नेताहरुको बैठकमा उनले पहिलो पटक उक्त प्रस्ताव अघि सारेका हुन्। सभापति शेरबहादुर देउवा, सह-महामन्त्री डा प्रकाश शरण महत नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखक लगायतका नेता सहभागी बैठकमा उनले नयाँ प्रस्ताव ल्याएका हुन्।

    विशेष महाधिवेशनको प्रस्ताव पार्टीमा सबैभन्दा पहिला नेता अर्जुननरसिंह केसीले प्रवेश गराएका थिए। उक्त प्रस्ताव पार्टीमा औपचारिक रूपमा छलफलको विषय बनिसकेको छैन।

    क्रियाशील सदस्यताको विवाद थाती रहेकाले महाधिवेशन कार्यतालिका प्रभावित बनेको छ। क्रियाशील सदस्यताको नवीकरण र अन्य दलबाट आएकाहरुको समायोजनमा विवाद देखिएको छ।

    बारा, सप्तरी, सिराहा, धनुषा, सिन्धुपाल्चोक, रसुवा लगायतका जिल्लामा क्रियाशील सदस्यताका बारेमा विवाद छ।