गण्डकी प्रदेशको प्रवेशद्वारमा राष्ट्रिय युवा सङ्घको स्वागतबोर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गण्डकी प्रदेशको प्रवेशद्वारमा राष्ट्रिय युवा सङ्घको स्वागतबोर्ड

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, बिहीबार

    तनहुँ : राष्ट्रिय युवा सङ्घ गण्डकी प्रदेश कमिटीले प्रदेशको प्रवेशद्वारमा स्वागतबोर्ड राखेको छ । युवा सङ्घले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा बिहीबार स्वागतबोर्ड राखेको हो ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले युवा सङ्घले राष्ट्रियता, लोकतन्त्र, युवाजन्य सरोकारका मुद्दाहरुलाई स्थापित र कार्यान्वयनमा भूमिका खेल्दै आएको बताए । कोभिड न्यूनीकरण, बाढीपहिरो पीडितलाई उद्धार र राहत वितरण, वृक्षारोपण लगायतका काममा युवा सङ्घले सशक्त काम गरिरहेको पहारीले बताए ।

    पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमा सुखी नेपाली ः समृद्ध नेपाल अभियान अगाडी बढिरहेको र विकासको लहर आएको बताउँदै पहारीले भने “त्यो सरकारलाई अन्य कारणबाट हटाउन नसकेपछि अदालतको सहारा लिएर देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर हटाए । साढे तीन वर्षको अवधिमा केपी ओली नेतृत्वको सरकारले गरेको काम जनताको मन मनमा बसेको छ ।” गण्डकी प्रदेशमा पनि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले गरेका कामको जनताले मूल्याङ्कन गर्ने पहारीको भनाई थियो ।

    युवा सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका पहारीले नेकपा एमाले सरकारबाट विस्थापित भएपनि जनताको मनमा स्थापित भएको बताए । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको २२ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताउँदै उनले अहिलेको सरकारलाई अप्राकृतिक र अपवित्र गठबन्धनको संज्ञा दिए ।

    मुलुकमा भ्रष्टाचार र कुशासन स्थापित गर्न वर्तमान सरकार लागिपरेको पहारीको आरोप थियो । “त्यसैको उदाहरण स्वरुप सरकार बनेको भोलिपल्टै दश करोडको भ्रष्टाचार मुद्दामा काङ्ग्रेसका नेता विजय गच्छदार दश लाख धरौटीमा छुटेका छन्,” पहारीले भने ।

    युवा सङ्घको देशव्यापी अभियान अन्तर्गत गण्डकी प्रदेशको प्रवेशद्वारमा स्वागत बोर्ड राखिएको गण्डकी प्रदेश कमिटीका अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए ।